इलाम । एसियाली फुटबल महासंघ (एएफसी) ले गलत तरिकाले क्लब लाइसेन्स वितरण गरेको भन्दै कारवाही गरेको २ साता नवित्दै अखिल नेपाल फुटबल संघ (एन्फा) ले १४ वटै ’ए’ डिभिजन क्लबले एएफसी लाईसेन्सका लागि दिएको निवेदन अस्वीकृत गरेको छ । एन्फाको क्लब लाईसेन्सिङ कमिटिको बैठकले आवश्यक कागजातहरु नपुगेको भन्दै शीर्ष डिभिजनका क्लबलाई एएफसीको लाईसेन्स सिफारिस नगर्ने निर्णय गरेको हो ।
एन्फाले गत वर्ष ’ए’ डिभिजनका १४ क्लबलाई एएफसीको क्लब लाईसेन्सका लागि प्रस्ताव गरेको थियो । जसमध्ये ९ क्लबले एएफसीको लाइसेन्स पाएका थिए । सोही आधारमा मनाङ मस्याङदीले लिग विजेताको हैसियतले एएफसी कप २०१९ खेलेको थियो । न्युनतम योग्यता नपुगेका क्लबलाई लाइसेन्स दिलाएको भन्दै गत अक्टोबर २२ र २३ मा बसेको एएफसी अनुशासन तथा आचारसंहिता समितिको बैठकले एन्फालाई ३५ हजार अमेरिकी डलर जरिवाना गर्ने निर्णय गरेको थियो । समितीको बैठकको निर्णय नं २२ मा एन्फाको जरिवाना र कारवाहीको बिषयमा उल्लेख गरिएको छ ।
निर्णय अनुसार एन्फाले एक महिनाभित्र १० हजार डलर मात्र तिर्नुपर्ने छ । बाँकी २५ हजार डलर एन्फाले दुई वर्षभित्र गर्ने सुधारका कामलाई हेरेर तय हुनेछ । सोही निर्णय अनुसार ठुलो जरिवानाबाट बच्न एन्फाले क्लब लाइसेन्स सिफारिसमा कडाइ गर्दै १४ वटै क्लबको निवेदनलाई प्रक्रिया नपुगेको भन्दै अस्विकृत गरेको हो । शहिद स्मारक ए डिभिजन लिग बिजेता मनाङ मस्याङदी सहित थ्री स्टार, नेपाल पुलिस, जावलाखेल, संकटा, फ्रेन्ड्स, सरस्वती, हिमालयन शेर्पा, बिग्रेड ब्वाइज , त्रिभुवन आर्मी, एपीएफ, मछिन्द्र, न्युरोड टिम, च्यासलले आगामी सिजनका लागि एएफसीको लाईसेन्सको आवेदन दिएका थिए ।
नेपाली क्लबको सहभागीता अनिश्चित
एएफसी लाइसेन्सका लागी अस्विकृत भएपछि एएफसीले आयोजना गर्ने प्रतियोगितामा नेपाली क्लबको सहभागीता अनिश्चित बनेको छ । एएफसीले सन २०१९ सम्म क्लब लाईसेन्सिङ प्रणाली लागु गर्न सम्बद्व सम्पुर्ण फुटबल संघलाई निर्देशन दिएको थियो । तर नेपालमा क्लब लाईसेन्सका लागि न्युनतम शर्त पुरा गर्ने एउटा समेत क्लब छैनन । एन्फाले आगामी बर्षको राष्ट्रिय लिगमा क्लब लाईसेन्सको न्युनतम शर्तहरु कार्यान्वयनको चरणमा लैजाने योजना रहेको बताएको छ ।