Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

इलामका सबै केन्द्रमा मतदान सामग्रीसहित निर्वाचन कर्मचारी पुगे

इलामका सबै केन्द्रमा मतदान सामग्रीसहित निर्वाचन कर्मचारी पुगे

  • लोकल सन्देश
  • शनिबार, असार १० २०७४


इलामका सबै केन्द्रमा मतदान सामग्रीसहित निर्वाचन कर्मचारी पुगे

 

इलाम : असार १४ मा हुने स्थानीय तहको निर्वाचनका लागि इलाममा मतदानका सामग्रीसहित निर्वाचनका कर्मचारी मतदान केन्द्र पुगेका छन्। १० वटा स्थानीय तहका १ सय ४४ मतदानस्थलका २ सय ४९ मतदान केन्द्रमा कर्मचारीहरु निर्वाचनमा आवश्यक सामाग्रीसहित पुगेका हुन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार बिहीबार भौगोलिक रुपमा सदरमुकामबाट टाढा रहेका माईजोगमाई, चुलाचुली, माङसेवुङ र फाफोकथुम गाउँपालिकाका ५९ मतदानस्थलका ९६ वटा मतदान केन्द्रमा बिहीबार नै आवश्यक सामाग्रीहरुसहित कर्मचारीहरु खटाइएको थियो। शुक्रबार सूर्योदय नगरपालिका, देउमाई नगरपालिका, माई नगरपालिका, सन्दकपुर गाउँपालिका र रोङ गाउँपालिकाका ७६ मतदानस्थलका १ सय ३५ मतदान केन्द्रमा आवश्यक ६४ प्रकारका सामाग्रीसहित कर्मचारीहरु खटाइएको थियो ।

त्यसैगरी शनिबार सदरमुकाम रहेको इलाम नगरपालिकाका निर्वाचनका लागि २४ मतदानस्थलका ४१ मतदान केन्द्रका कर्मचारीहरु सुरक्षा संयन्त्रका साथ खटाइएको मुख्य निर्वाचन अधिकृत नवराज दाहालले बताए। मतदानमा खटिएका निर्वाचन अधिकृत र कर्मचारीले निर्वाचन कार्यालयको कार्यतालिका अनुसार काम गरी मतदातालाई सहज रुपमा मतदान गराउने  दाहालले बताए।

१ सय ४४ मतदानस्थलमा २ सय ४९ मतदान केन्द्र रहेको इलाममा १ लाख ८९ हजार २ सय ७४ मतदाता रहेका छन्। स्थानीय तहको निर्वाचनमा इलाममा स्वयमसेवकसहित २२ सय ५५ कर्मचारी र ३ हजार बढी सुरक्षाकर्मी खटिनेछन्।

प्रतिक्रिया
सम्बन्धित समाचार