Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

१० बर्षभित्र मुलुकलाई पुर्ण अर्गानिक बनाइने : मन्त्री खनाल

१० बर्षभित्र मुलुकलाई पुर्ण अर्गानिक बनाइने : मन्त्री खनाल

  • सन्देश सम्वाददाता
  • बुधबार, साउन २२ २०७६


१० बर्षभित्र मुलुकलाई पुर्ण अर्गानिक बनाइने : मन्त्री खनाल

इलाम । कृषि मन्त्री चक्रपाणी खनालले १० बर्षभित्र मुलुकलाई पुर्ण अर्गानिक बनाउने चालु आर्थिक बर्षदेखी काम सुरु गरिने बताएका छन् । जैविक बिषादी, प्राङ्गारिक मल उत्पादनका लागि सरकारले देशका चार प्रदेशमा काम सुरु गर्न ५२ करोड बजेट विनियोजन गरिएको बताउदै अर्गानिक नेपालको परिकल्पनामा सरकार दृढ भएर अगाडी बढ्ने उनले बताए । इलामको सुर्योदय नगरपालिकामा किसान तथा चिया उद्यमीहरुसंगको भेटमा खनालले कृषकलाई सहुलीयतमा ऋण दिन भूमी बैंक स्थापना गर्ने तयारी भैरहेको जानकारी दिए ।
बिभिन्न शिर्षकमा अनुदान भन्दा भूमी बैंक स्थापना गरेर एक देखि दुई प्रतिशत ब्याजमा ऋण उपलब्ध गराउदा किसानहरु बढी लाभाविन्त हुने देखिएको उनले बताए । चियाको राजधानीले परिचित सुर्योदय नगरपालिकामा लामो समयदेखी देखिएको चियाको समस्या समाधानका लागी इलाम आएका खनालले नेपाली चियाको जात, लोगो र बजारिकरणमा सरकारको विशेष पहल हुने बताए । रसायनिक मल आपुर्तिमा बर्षेनी अर्बौ लगानी गरेपनि किसानहरुमा समस्या थपिदै गएको उल्लेख गर्दै आगामी दिनमा रसायनीक मलमा अनुदान भन्दा पनि उद्योग स्थापना र जैविक मल उत्पादनमा सहयोग गरिने बताए । उनले भने ‘ अर्गानिक अभियानमा चालु आर्थिक बर्षमा ५२ करोड बजेट छुट्याउदा एक नम्बर प्रदेशमा १५ करोड परेको छ , यसले चिया किसानलाई पनि समेटछ ।’
देशको अर्थतन्त्रको मेरुदण्ड मानिएको चिया क्षेत्रमा दिगो समाधानका लागि चिया क्षेत्र समस्या समाधान उच्च स्तरीय कार्यदलले दिएको प्रतिवेदन कार्यान्वयनमा सरकार अडिग रहेको धारणा राखे । उनले नगरका विभिन्न चिया कारखानाहरुको अबलोकन भ्रमण समेत गरे । राष्ट्रिय चिया तथा कफी बिकास बोर्डका उप निर्देशक दिपक खनालले मजदुर आन्दोलनका कारण सिजनको शुरुमै चिया क्षेत्र धरापमा परेको कारण केही समयसम्म समस्या ज्यूतका त्यू रहने बताए ।
उनले चियाको सवैभन्दा उतम सिजन फस्ट फल्समै किसानहरुको आन्दोलनले धरासायी बनेका उद्योग अझै तङग्रीन केही समय लाग्ने स्पष्ट पारे । मन्त्री खनाल समक्ष चिया किसान, मजदुर र उद्योगीले अनेकौ समस्याका राखेका थिए । सूर्योदय नगरपालिकाको पहलमा अर्गानिक चिया उत्पादन अभियान शुरु भएको नगरका किसानले अर्गानिक चिया उत्पादन गर्दा लाग्ने लागत अनुसार बिक्री मूल्य नभएको गुनासो सुनाए । अर्गानिक चिया किसान अर्जुन भट्टराईले चियाको बजारीकरण र मूल्य निर्धारणका लागि मन्त्रालयले पहल गर्नु पर्ने बताए । चिया उत्पादक जिल्ला सहकारी संघका अध्यक्ष प्रेम गुरुङले चिया क्षेत्रका राज्यबाटै विभेदकारी निती आएकाले देशको अर्थतन्त्र धानेको चिया किसानहरुको समृद्धि हुन नसकेको बताए ।
सूर्योदय उद्योग बाणिज्य संघका अध्यक्ष प्रमोद राईले नगर क्षेत्रमा चियाको अक्सन सेन्टर स्थापना गर्नु पर्ने , स्थानीय क्याम्पसमा चिया बिषयको पढाई शुरु गर्नु पर्ने र नेपाली चियाको आफनै लोगो निर्माण गरी उक्त लोगो मार्फत चिया निर्यात गर्नु पर्ने माग गरे । अर्गानिक चियाका अभियान्ता तथा सरकारले गठन गरेको चिया क्षेत्र समस्या समाधान उच्च स्तरीय कार्यदलका सदस्य उदय चापाँगाईले पहाडी क्षेत्रमा ९५ प्रतिशत साना किसान अर्गानिक चिया उत्पादनमा लागि रहेकाले उनीहरुलाई मध्य बिन्दुमा राखेर चिया क्षेत्रका समस्या समाधान गर्न आफुहरुले प्रतिवेदन बुझाए पनि सरकारले कार्यान्वयन नगरेको बताए ।
ट्रेड युनियनका प्रतिनिधिले चिया मजदुरका पक्षमा राज्यले लागु गरेको ज्याला कम भएको बताए । अन्य क्षेत्रमा काम गर्ने मजदुरको तुलनामा आठ घण्टा काम गर्ने चिया मजदुरलाई तीन सय ८५ रुपियाँ मात्र दिएर उपेक्षा गरेको अखिल नेपाल ट्रेड युनियन महासंघ प्रदेश नम्बर एकका अध्यक्ष भूपाल सापकोटाले बताए ।
सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले चिया क्षेत्रका समस्या समाधान गर्न मन्त्रालयले नगरपालिका संग सहकार्य गर्नु पर्ने बताए । सूर्योदय नगरपालिकामा साना ठूला गरी ६२ चिया कारखाना रहेका छन । नगरले प्रतिकिलो ग्राम अर्गानिक चियाको मूल्य ४० रुपियाँ तोकेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार