इलाम । नेपालले भ्रमण बर्ष : २०२० घोषणा गर्दै २० लाख बाह्रय पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । तर तेश्रो मुलुकबाट आउने पर्यटकहरुलाई सरकारले आर्कषित गर्न सकेको छैन । सरकारी तथ्यांकले नै विदेशी पर्यटकहरुको बसाइ लम्व्याउने योजना आउन नसकेको देखाउँछ । विगत ४४ बर्षको सरकारी तथ्यांकले पर्यटकहरुको नेपाल बसाई उतारचढाब आइरहेको देखाउँछ । सन १९७४ मा विदेशी पर्यटकहरु औषतमा १३.२ दिन नेपालमा विताउने गरेकोमा २०१८ मा आइपुग्दा यो दर १२.४ मा आइपुगेको छ ।
पछिल्लो पटक सरकारले मनाएको भिजिट नेपाल १९९६ मा ३ लाख ९३ हजार ६१३ ले नेपाल भ्रमण गर्दा एक जना पर्यटकले औषतमा १३.५० दिन विताएको ‘नेपाल टुरिज्म स्टाटिस्टिक्स–२०१८’ मा उल्लेख गरिएको छ । भ्रमण बर्ष २०२० मा एक जना पर्यटकले बसाई अवधीलाई लम्व्याएर १५ दिन पु¥याउने सरकारको लक्ष्य रहेको छ । तर उतारचढाव भइरहेको दर विगत ३ बर्ष देखी घटदै आएको छ । भुकम्प र नाकावन्दीले मुलुको अवस्था खस्किरहेको बर्ष सन २०१६ मा ७ लाख ५३ हजारले नेपाल भ्रमण गर्दा औषतमा १३.४ दिन एक जना पर्यटकले नेपालमा विताएको तथ्यांकमा उल्लेख गरिएको छ ।
यो तथ्यांक २०१७ मा १२.६ र २०१८ मा आइपुग्दा घटेर १२.४ पुगेको छ । पर्यटकहरुको बसाइ अवधी घट्नुको मुख्य कारण धेरै जसो पर्यटकहरु छुट्टी मनाउनका लागी नेपाल आएको कारण भएको पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले जानकारी दिए । ‘ पर्यटकको संख्या बढेपनि औषत बसाइ घटेको देखिन्छ हाम्रो लक्ष्य बढाउने नै हो । ’ उनले भने ‘ सवैभन्दा बढी समय नेपालमा विताउने भनेको आरोहीहरुले हो । तर पछिल्लो समय आरोही भन्दा पनि विदा मनाउनेहरु बढी आए ।’
सन २०१८ मा नेपालमा ११ लाख ७३ हजार ७२ विदेशी पर्यटक आएका थिए, जुन अघिल्लो वर्षको तुलनामा २४.७७ प्रतिशतले बढी भएको नेपाल टुरिज्म स्टाटिस्टिक्स–२०१८’ मा उल्लेख गरिएको छ । सन २०१७ मा ९ लाख ४० हजार २ सय १८ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । सन २०२० मा हाल १२ दिनको पर्यटको बसाई अवधीलाई लम्बाएर १५ दिने पु¥याउने र प्रति पर्यटक खर्च दैनिक ६५ डलर पु¥याउने लक्ष्य सरकारले लिएको छ । त्यस्तैगरी सन २०२० मा नेपालको कूल ग्रार्हस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान ५ प्रतिशत पु¥याउने लक्ष्य राखिएको उपाध्ययायले बताए । हाल उक्त योगदान २ प्रतिशत मात्रै रहेको छ । त्यस्तैगरी विदेशी मुद्रा आर्जनमा पर्यटन क्षेत्रको योगदान ८ प्रतिशत पु¥याउने लक्ष्य लिएको प्रवक्ता उपाध्ययले जानकारी दिए ।
विदेशी पर्यटकको दैनिक खर्च घट्दो
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा प्रकाशित ‘नेपाल टुरिज्म स्टाटिस्टिक्स–२०१८’ अनुसार पर्यटकहरुको बसाइ घटेसंगै उनीहरुले दैनिक रुपमा गर्ने खर्चमा समेत कमी आउन थालेको छ । सन २०१७ मा एक पर्यटकले दैनिक ५४ अमेरीकन डलर खर्च गरेकोमा त्यो घटेर सन २०१८ मा ४४ अमेरिकन डलरमा सीमित भएको छ । पर्यटन मन्त्रालयको प्रवक्ता उपाध्यायले इपेमेन्ट सिस्टमका कारण खर्च कम देखिएको बताए ।
‘इ–पेमेन्ट हाम्रो राष्ट्रिय आयमा नदेखिने भएकाले खर्च कम गरेको देखिएको हो । तर राष्ट्र बैंकसंग समन्वय गरेर वास्तविकता निकाल्ने प्रयास गरिरहेका छौ ’ उनले भने ‘ सन २०१९ मा भने वास्तविक खर्च कति गर्छन भन्ने देखाउन सक्छौ ।’ पर्यटन क्षेत्रबाट सन २०१८ मा ६९ अर्ब ७५ करोड ५८ लाख रुपैयाँ आम्दानी भएको छ । जुन अघिल्लो वर्षको तुलनामा १७ प्रतिशतले बढी हो । सन २०१७ मा पर्यटन क्षेत्रबाट ५८ अर्ब ५२ करोड ६९ लाख रुपैयाँ आम्दानी भएको थियो ।

सवैभन्दा बढी पर्यटक भारतबाट
विगतमा जस्तै सन २०१८ मा समेत सबभन्दा बढी पर्यटक छिमेकी मुलुक भारत र चीनबाट आएका छन । नेपालमा बढी पर्यटक आउने पाँच मुलुकमा भारत पहिलो र चीन दोस्रोमा छ । भारतबाट सन २०१८ मा १ लाख ९४ हजार ३ सय २३ र चीनबाट १ लाख ५३ हजार ६ सय ३३ जना पर्यटक नेपाल आएका थिए । तेश्रो स्थानमा रहेको अमेरिकाबाट ९१ हजार ८ सय ९५, चौथोमा रहेको बेलायतबाट ६३ हजार ४ सय ६६ र पाँचौंमा रहेको श्रीलंकाबाट ६९ हजार ६ सय ४० पर्यटक नेपाल आएको तथ्यांकमा उल्लेख गरिएको छ ।
अधिकांश पर्यटकहरु बिदा मनाउन, मनोरञ्जन तथा धार्मिक उद्देश्यका लागि आउने गरेका छन । सन २०१८ मा ७ लाख ३ हजार ८ सय ४३ जना बिदा मनाउन र १ लाख ८७ हजार ६ सय ९२ जना धार्मिक कामका लागि आएको तथ्यांकमा उल्लेख गरिएको छ । साहसिक पर्यटनमा रुचि राख्नेहरूको रोजाइमा समेत नेपाल पर्ने गरेको छ । हिमाल आरोहणमा सन २०१८ मा ४ सय ३४ महिला सहित ३ हजार १ सय ३६ जनाले अनुमती लिएकोमा १ हजार ६ सय ३ जनाले मात्र सफल आरोहण गरेका छन् । आरोहण सफल हुनेमा १ सय ९३ जना महिला र १ हजार ४ सय १० जना पुरुष रहेका छन् ।
इलाममा विदेशी पर्यटक आउने गन्तव्य सन्दकपुर
सरकारको पर्यटन बर्षको लागी भनेर १ सय गन्तव्य पहिचान गरेर ५० लाखको दरले बजेट विनियोजना गरेको छ । जसमा इलामको सन्दकपुर–माइपोखरी र फिक्कल–कन्याम–अन्तु सर्किटलाई समावेश गरेको छ । ति क्षेत्रहरुमा बाह्रय पर्यटकहरुको आर्कषण बढ्न सकेको छैन । अन्य क्षेत्रमा चिया अध्ययनका लागी मात्र तेश्रो मुलुकबाट पर्यटकहरु आउने गरेका छन् । आर्थिक बर्ष २०७४÷०७५ को तुलनामा आव २०७५÷०७६ मा ४२ दशमलब ६७ प्रतिशतले पर्यटकको संख्या बढे पनि बाह्रय पर्यटकहरु बढ्न सकेनन् । पर्यटन सूचना केन्द्र जोरकलशका दर्ता अधिकारी गगन घिमिरेका अनुसार गत आर्थिक बर्षमा इलाममा ५ सय ८० जना भित्रिएका छन् । दुई सय २९ जना महिला र तीन सय ५१ जना पुरुष विदेशी पर्यटकहरु इलाम भ्रमणमा आएको पर्यटन सुचना केन्द्रले जनाएको छ । जुन कुल संख्याको ०.००४३ प्रतिशत हुनु आउँछ ।
उक्त केन्द्रमा दर्ता भै एक लाख ३४ हजार ७७ जना इलाम प्रवेश गरेका छन । यो तथ्यांक अघिल्लो बर्ष ९३ हजार नौ सय ७६ थियो । युरोप अमेरीका चीन र छिमेकी देश भारत, भुटान लगायतका पर्यटकको रोजाई इलाम पर्ने गरेको छ । स्वदेशी पर्यटकले कन्याम र अन्तु रोजे पनि बिदेशी पर्यटकको रोजाईमा सन्दकपुर पर्ने गरेको पाईएको छ । बर्षेनी सन्दकपुरमा हजारौको संख्यामा भारतिय बाटो प्रयोग गर्दै तेश्रो मुलुकबाट पर्यटकहरु भित्रने गरेका छन् ।
सन्दकपुरमा दैनिक ५० बढी विदेशी पर्यटकहरु आउने गरेका छन् । तर नेपालको बाटो हुँदै न्युन मात्रमा पर्यटकहरु सन्दकपुर पुग्छन् ।

नेपालमा पुर्वाधार विकास र पर्यटनमा लगानी नहुँदा भारतले फाइदा उठाएको छ । हिलाम्मे र असहज सडकका कारण स्वदेशी पर्यटकहरु पनि नेपालको बाटो प्रयोग गर्न अनकनाउँछन् । सन्दकपुर गाउँपालिकाका अध्यक्ष उदय राईले अवको एक बर्षमा सन्दकपुरमा खानेपानी, बिजुली, बाटो जस्ता पूर्वाधारको बिकास गरिसक्ने बताए । उनले सन्दकपुर जाने पर्यटकलाई नेपाल तर्फ नै आवश्यक सुविधा दिने प्रयत्न गाउँपालिकाले गरिरहेको जानकारी दिए । ‘ ३६३६ मिटरको उचाईमा रहेको सन्दकपुर इलामकै प्रमुख पर्यटकीय गन्तब्य हो ।’ उनले भने ‘ १ बर्षको अवधीमा नेपाल हूँदै बर्षेनी लाखौ पर्यटकहरु सन्दकपुर पु¥याउन कुनै पनि कसर बाँकी राखिदैन ।’
सन्दकपुर पुग्ने पर्यटकहरुलाई मूख्य समस्याको रुपमा गाँस र बासको रहेको छ । नेपाल तर्फ २ वटा होटल छन् जसमा १ सय बढी पर्यटकहरु अटाउन मुस्किल पर्छ । भारत तर्फ भने सरकारी आवास बनाएको छ त्यहाँ एक पटकमा ५ सय बढी पर्यटकहरु अटाउँछन् ।
३ देशका ६० बढी हिमचुचुरा देखिने सन्दकपुरको दृश्यावलोकन नेपालबाट गर्न सकिन्छ । तर पुर्वाधारको विकास नहूँदा भारतले फाइदा उठाएको स्थानिय सिद्धि गुरुङ बताउँछन् । यता स्वदेशी पर्यटक बनभोज खान, चियाबारीको दृश्यावलोकन गर्न र घोडचडीका लागि कन्याम आउने गरेका छन् । दिनभरी कन्यामको चियाबारीमा भुल्ने पर्यटकहरु साँझ परेपछि अन्तुमा रात विताउन पुग्छन् । त्यहाँ पुगेका पर्यटकले सूर्योदयको दृश्यावलोकनमा रमाउने गरेका छन । इलाम भनेर आएका धेरै जसो पर्यटक कन्याम आईपुगे पछिे मिरिक दाजिलिङ लगायतका स्थान जाने गरेका छन् । प्रदेश एक सरकारले पर्यटकीय नगरी घोषणा गरेको सूर्योदय नगरपालिकाले पर्यटकलाई थप आर्कषित गर्न कन्याममा पार्क निर्माण गरिरहेको छ ।