Local Sandesh सोमबार, कार्तिक १७ २०८३
  • ट्रेण्डिङ :

कोशी प्रदेशको सर्वोत्कृष्ट प्रहरी बने इलामका प्रहरी निरीक्षक दिवश रिमाल

कोशी प्रदेशको सर्वोत्कृष्ट प्रहरी बने इलामका प्रहरी निरीक्षक दिवश रिमाल

  • सन्देश सम्बाददाता
  • शुक्रबार, असोज ९ २०८३


कोशी प्रदेशको सर्वोत्कृष्ट प्रहरी बने इलामका प्रहरी निरीक्षक दिवश रिमाल

इलाम । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जिल्ला प्रहरी कार्यालय इलाममा कार्यरत प्रहरी निरीक्षक दिवश रिमाललाई २०८३ साल भदौ महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित गरेको छ। कर्तव्य निर्वाहका क्रममा उच्च व्यावसायिकता, साहस, अनुशासन र कर्तव्यनिष्ठा प्रदर्शन गरेको मूल्याङ्कन गर्दै रिमाललाई सर्वोत्कृष्ट प्रहरी घोषणा गरिएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

भदौ ५ गते इलाम नगरपालिका–७, कुलधारा क्षेत्रमा रहेको कुवेरप्रसाद शर्माको घरको सेफ्टी ट्याङ्की सफा गर्ने क्रममा सोही स्थानका ४७ वर्षीय रामसी डोम ट्याङ्कीभित्र अचेत अवस्थामा रहेको सूचना प्रहरीलाई प्राप्त भएको थियो। सूचना प्राप्त हुनासाथ प्रहरी निरीक्षक रिमालको नेतृत्वमा प्रहरी टोली तत्काल घटनास्थल पुगेको थियो।

उद्धारका क्रममा रिमालले जोखिम मोलेर सेफ्टी ट्याङ्कीभित्र प्रवेश गरी अचेत अवस्थामा रहेका डोमलाई सकुशल बाहिर निकाल्न महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
उक्त घटनामा देखाएको तत्परता, साहस र मानवीय संवेदनाका साथै आफ्नो पदीय जिम्मेवारी निर्वाहमा देखाएको अनुशासन, व्यावसायिकता र कर्तव्यनिष्ठतालाई उच्च मूल्याङ्कन गर्दै रिमाललाई भदौ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

प्रहरी संगठनको मूल्य–मान्यता, आदेश तथा निर्देशनको पालना गर्दै उच्च मनोबलका साथ जिम्मेवारी निर्वाह गरेको र आम नागरिकलाई सुरक्षाको अनुभूति दिलाउन उल्लेखनीय योगदान पुर्‍याएको भन्दै उनलाई उक्त सम्मान प्रदान गरिएको हो। कोशी प्रदेश प्रहरी कार्यालयले रिमालको कार्यसम्पादनले प्रहरी संगठनप्रतिको नागरिक विश्वास अभिवृद्धि गर्न सहयोग पुगेको जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार