Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

चेन्नईमा अलपत्र चार नेपाली युवा इन्डो–नेपाल कोर कमिटी पशुपतिनगरको पहलमा स्वदेश फर्किए

चेन्नईमा अलपत्र चार नेपाली युवा इन्डो–नेपाल कोर कमिटी पशुपतिनगरको पहलमा स्वदेश फर्किए

  • सन्देश सम्वाददाता
  • बुधबार, भाद्र ३१ २०८३


चेन्नईमा अलपत्र चार नेपाली युवा इन्डो–नेपाल कोर कमिटी पशुपतिनगरको पहलमा स्वदेश फर्किए

इलाम । भारतको चेन्नईमा अलपत्र परेका चार नेपाली युवालाई इन्डो–नेपाल कोर कमिटी पशुपतिनगर को पहलमा उद्धार गरी सुरक्षित रूपमा स्वदेश फर्काइएको छ। रोजगारीको खोजीमा भारतको तमिलनाडुस्थित चेन्नई पुगेका पोखराका चार युवा चेन्नई रेलवे स्टेसनमा पैसा र खानाविहीन अवस्थामा अलपत्र परेका थिए। उनीहरूलाई इन्डो–नेपाल कोर कमिटीका सदस्य एवं समाजसेवी शोइजन शेर्पाको पहलमा उद्धार गरी नेपाल फर्काइएको हो।

उद्धार गरिएका युवामा २० वर्षीय नवीन, २१ वर्षीय रोशन, २२ वर्षीय सन्तोष र २४ वर्षीय करण रहेका छन्। उनीहरू रोजगारी तथा जीविकोपार्जनका लागि चेन्नई पुगेका थिए। युवाहरू चेन्नई रेलवे स्टेसनमा अलपत्र परेको जानकारी पाएपछि शेर्पाले दार्जिलिङस्थित सामाजिक संस्था अनुज्ञालय डीडीएसएसएस (ANUGYALAYA DDSSS) सँग समन्वय गरेका थिए ।। अनुज्ञालयको पहलमा तमिलनाडुस्थित इन्टरनेसनल जस्टिस मिसन (International Justice Mission) सँग समन्वय गरी युवाहरूको उद्धारका लागि टोली परिचालन गरिएको थियो।

उद्धारपछि युवाहरूलाई दुई दिनसम्म तमिलनाडु सरकारको आश्रयस्थलमा राखिएको थियो। आश्रयस्थलमा उनीहरूलाई आवश्यक खाना तथा हेरचाहको व्यवस्था गरिएको थियो। त्यसपछि उनीहरूलाई चेन्नईबाट गोरखपुर जाने रेलमार्फत स्वदेश फर्काइएको हो। चारै जना आज सुरक्षित रूपमा नेपाल आइपुगेका छन्।

इन्डो–नेपाल कोर कमिटीले युवाहरूको उद्धार तथा स्वदेश फिर्तीमा सहयोग गर्ने इन्टरनेसनल जस्टिस मिसन तमिलनाडुका रूपन कन्ना, अनुज्ञालय डीडीएसएसएसका सुदीप बोम्जन तथा तमिलनाडु रेलवे पुलिसप्रति आभार व्यक्त गरेको छ। इन्डो–नेपाल कोर कमिटीले पछिल्लो चार वर्षदेखि इलामको पशुपतिनगरलाई केन्द्र बनाएर मानव बेचबिखनविरुद्धको अभियान, विदेशमा अलपत्र परेका नेपालीको स्वदेश फिर्ती तथा पुनर्स्थापनाका क्षेत्रमा काम गर्दै आएको जनाएको छ।

कमिटीले यस क्रममा माइती नेपाल, AATWIN नेपाल, अनुज्ञालय डीडीएसएसएस, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, भारतीय प्रहरी, एसएसबी (SSB) लगायतका सरकारी तथा मानवीय संस्थासँग सहकार्य गर्दै आएको छ। सीमा क्षेत्रमा जोखिममा रहेका नेपालीको उद्धार, मानव बेचबिखन रोकथाम तथा आवश्यक अवस्थामा स्वदेश फिर्तीका लागि अन्तरदेशीय समन्वयलाई प्राथमिकता दिँदै आएको कमिटीको भनाइ छ।

प्रतिक्रिया
सम्बन्धित समाचार