Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

पुवा खोलामा ७० मिटर लामो मोडुलर पुलको लोड टेस्ट सफल

पुवा खोलामा ७० मिटर लामो मोडुलर पुलको लोड टेस्ट सफल

  • सन्देश सम्बाददाता
  • मंगलबार, भाद्र ३० २०८३


पुवा खोलामा ७० मिटर लामो मोडुलर पुलको लोड टेस्ट सफल

इलाम । मेची करिडोरअन्तर्गत निर्माणाधीन पुवा खोलामा जडान गरिएको ७० मिटर लामो मोडुलर पुलको लोड टेस्ट सफलतापूर्वक सम्पन्न भएको छ। डिभिजनअन्तर्गत निर्माणाधीन उक्त पुलको जडान कार्य सम्पन्न भएपछि भदौ २७ गते लोड टेस्ट गरिएको हो।

परीक्षण सफल भएसँगै आगामी केही दिनभित्रै पुलबाट सवारी आवागमन सञ्चालनमा ल्याउने तयारी भइरहेको सम्बन्धित निकायले जनाएको छ। पुलको एकतर्फको ब्याकवाल ढलान कार्य सम्पन्न भइसकेको छ भने अर्कोतर्फको ब्याकवाल ढलान कार्य भइरहेको छ। निर्माणका बाँकी काम पूरा गरी शीघ्र रूपमा पुल सञ्चालनमा ल्याउने तयारी गरिएको जनाइएको छ।

पुलको अधिकतम भारवहन क्षमता ३० टन रहेको छ। पुलको संरचनागत सुरक्षा र दीर्घकालीन स्थायित्वलाई ध्यानमा राख्दै एक पटकमा एउटा मात्र सवारी साधन पुलमा प्रवेश गराउने व्यवस्था अनिवार्य रूपमा पालना गर्न सम्बन्धित पक्षलाई आग्रह गरिएको छ।

यसअघि निर्माण सम्पन्न भई सञ्चालनमा रहेको माइखोला (बेलासे) स्थित मोडुलर पुलमा समेत एक पटकमा एउटा मात्र सवारी साधन प्रवेश गराउने सूचना बोर्ड राखिएको थियो। तर, एकै समयमा एकभन्दा बढी सवारी साधन पुलमा प्रवेश गर्ने गरेको पाइएको भन्दै सम्बन्धित निकायले गम्भीर ध्यानाकर्षण गराएको छ।

एकैपटक धेरै सवारी साधन प्रवेश गर्दा पुलमा अनावश्यक भार र संरचनागत जोखिम बढ्न सक्ने भएकाले पुवा खोला र माइखोला (बेलासे) दुवै मोडुलर पुलमा ३० टनभन्दा बढी भार भएका सवारी साधन प्रवेश नगराउन आग्रह गरिएको छ। सवारी चालक, यातायात व्यवसायी तथा सम्बन्धित सबै सरोकारवालाले एक पटकमा एउटा मात्र सवारी साधन पुलमा प्रवेश गराउने व्यवस्था कडाइका साथ पालना गर्न डिभिजनले अनुरोध गरेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार