इलाम । ६२औँ राष्ट्रिय बाल दिवस २०८३ को अवसरमा मण्टेश्वरी सेकेण्डरी स्कुल, इलामले आयोजना गरेको सात किलोमिटर दौड प्रतियोगिता सम्पन्न भएको छ। बालबालिकामा खेलकुदप्रतिको रुचि अभिवृद्धि गर्नुका साथै शारीरिक तथा मानसिक स्वास्थ्य, अनुशासन, आत्मविश्वास र स्वस्थ प्रतिस्पर्धात्मक भावनाको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको विद्यालयले जनाएको छ।
प्रतियोगितामा १३५ विद्यार्थी र २० शिक्षकसहित कुल १५५ जना धावकको सहभागिता रहेको थियो। प्रतियोगिताको छात्रतर्फ एलिक गुरुङले निर्धारित सात किलोमिटर दूरी १९ मिनेट १४ सेकेन्डमा पूरा गर्दै प्रथम स्थान हासिल गरे। संसार राईले १९ मिनेट ४९ सेकेन्डमा दूरी पूरा गर्दै दोस्रो तथा पुकार तामाङले २० मिनेट १६ सेकेन्डमा दूरी पूरा गर्दै तेस्रो स्थान प्राप्त गरे।
त्यस्तै, छात्रातर्फ निस्मा कटुवालले ३२ मिनेट १२ सेकेन्डमा दूरी पूरा गर्दै प्रथम स्थान हासिल गरिन्। कैलासी राईले ३३ मिनेट २६ सेकेन्डमा दोस्रो तथा निर्जला राईले ३३ मिनेट ३५ सेकेन्डमा तेस्रो स्थान प्राप्त गरिन्। शिक्षकतर्फ शिखर काजी बान्तावाले २९ मिनेट ३४ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै प्रथम भए।
तनिसा मगरले ३३ मिनेटमा दूरी पूरा गर्दै दोस्रो तथा सञ्जीव राईले ३३ मिनेट ५५ सेकेन्डमा दूरी पूरा गर्दै तेस्रो स्थान हासिल गरे। प्रतियोगितामा छात्र र छात्रातर्फ उत्कृष्ट १०–१० जना तथा शिक्षकतर्फ उत्कृष्ट तीन जना धावकलाई पुरस्कृत गरिएको थियो।
विजयी धावकहरूलाई विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष डम्बर कुमारी देवानले पुरस्कार तथा सम्मान प्रदान गरेकी थिइन्। विद्यालयका अनुसार विद्यार्थी तथा शिक्षकको उत्साहजनक सहभागिताले प्रतियोगितालाई थप प्रभावकारी र आकर्षक बनाएको थियो।
विद्यालय समुदायमा खेलकुद संस्कृति विकास, स्वस्थ प्रतिस्पर्धाको भावना अभिवृद्धि तथा सक्रिय जीवनशैली प्रवर्द्धनमा प्रतियोगिताले योगदान पुर्याएको विद्यालयले जनाएको छ।