इलाम । ओपनर आशिफ शेखको शतकमा नेपालले एसीसी मेन्स प्रिमियर कपको फाइनलमा युएईलाई ३ सय १४ रनको ठूलो चुनौती दिएको छ। मलेसियाको वयुमास ओभर स्टेडियममा टस जितेर नेपालले ब्याटिङ रोज्यो। निर्धारित ५० ओभरमा नेपालले ९ विकेट गुमाउँदै ३ सय १३ रनको योगफल खडा गर्यो। अर्जुन कुमाल र आशिफ शेखले नेपाललाई राम्रो सुरूवात दिलाए।
पहिलो विकेटको लागि २१ ओभर खेल्दै ९७ रनको साझेदारी गरे। अर्जुन ४३ रनमा रन आउट भए। लगतै इशान पाण्डे १३ रनमा अदीप उसमानीको बलमा तानिस सुरीद्वारा क्याच आउट हुन पुगे। यतिखेर नेपालले १ सय २३ रन बनाएको थियो। क्रिजमा टिकेका आशिफले शतक बनाए। उनले १ सय ३ बल खेल्दै ८ चौका र ४ छक्का सहित शतकको सफलता प्राप्त गरे। उनको यो दोस्रो एकदिवसीय शतक हो।
यसअघि उनले सन् २०२३ को आइसिसी वल्ड कप लिग टुमा पपुवा न्युगिनी विरूद्ध टियु क्रिकेट मैदानमा पहिलो शतक प्रहार गरेका थिए। आशिफले चौथो विकेटका लागि रोहित पौडेलसँग तेस्रो चौथो ६८ रनको साझेदारी गरे। उनी १ सय २ रनमा हैदर अलिको बलमा आउट भए। ब्याटिङमा आज नेपालको उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिए। गुल्शन झाले अर्धशतक बनाए। मात्र ३८ बल खेल्दै ३ चौका र ४ चौका सहित ५२ रनको योगदान दिए।
साथै गुल्सन १ हजार रन पूरा गन पनि सफल रहे। युएई विरूद्ध ३७ रन बनाएपछि १ हजार रनको आँकडा पुरा गरेका हुन्। आजको खेल सुरू हुनु अगाडी उनको नाममा ९ सय ६३ रन रहेको थियो। उनले ५३ खेल खेल्दै ४५ इनिङ्सबाट १ हजार रन पुरा गरेका हुन्। उनी नेपालको लागि १ हजार रनको आँकडा पार गर्ने सातौं खेलाडी बने। रोहितले ४० रन जोडे। यस्तै दीपेन्द्र सिंह ऐरीले १८ रन बनाए । बसिर अहमदले अविजित १५ रन बनाए ।
इसान पाण्डेले १३ रन बनाउँदा अन्य व्याटरले दोहोर अंकमा रन जोड्न सकेनन् । बलिङमा युएईका खुजैमा बिन तनवीर रइबार अहमदले समान २ विकेट लिए। आजको खेल जित्ने टोलीले एसीसी मेन्स प्रिमियर कपको उपाधिसँगै २०२७ को एकदिवसीय एसिया कपमा स्थान सुरक्षित गर्नेछ। सन् २०२३ को फाइनलमा पनि नेपालले युएईलाई ७ विकेटले माथ दिएको थियो।