इलाम । भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी नागरिकका वर्षौंदेखिका भूमि सम्बन्धी समस्या समाधान गर्न गठित जिल्ला भूमि समस्या समाधान समिति, इलामको काम अपेक्षित रूपमा प्रभावकारी हुन नसकेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) इलामले जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराएको छ।
रास्वपा इलामले प्रमुख जिल्ला अधिकारी तथा जिल्ला भूमि समस्या समाधान समितिका संयोजक लक्ष्मण ढकाललाई ध्यानाकर्षणपत्र बुझाउँदै समितिको काम तत्काल प्रभावकारी, पारदर्शी र परिणाममुखी बनाउन माग गरेको हो। भूमि समस्या नागरिकको आवास, जीविकोपार्जन तथा सम्मानपूर्वक बाँच्न पाउने अधिकारसँग प्रत्यक्ष रूपमा जोडिएको संवेदनशील विषय भएकाले यसको समाधानलाई प्राथमिकतामा राख्नुपर्ने रास्वपा इलामका सभापति दिनेश महतले बताए ।
वर्षौंदेखि आफ्नो नाममा जग्गा दर्ता हुने र भूमिसम्बन्धी समस्या समाधान हुने आशामा रहेका नागरिकले ठूलो अपेक्षा राखेको भए पनि समितिको काम अपेक्षित गतिमा अघि बढ्न नसक्दा सम्बन्धित नागरिकमा अन्योल र निराशा बढेको ध्यानाकर्षणपत्रमा उल्लेख गरिएको छ। रास्वपाले समितिको काम सुरु भएदेखि हालसम्मको प्रगति, देखिएका समस्या, चुनौती तथा ढिलाइका वास्तविक कारणबारे आम नागरिकलाई स्पष्ट जानकारी गराउन माग गरेको छ।
समितिको काम कुन अवस्थामा पुगेको छ, के–कस्ता समस्या छन् र समाधानका लागि अबको कार्ययोजना के हो भन्ने विषयमा नागरिकलाई जानकारी दिनुपर्ने महतको भनाइ छ। त्यसैगरी स्थानीय तह, सम्बन्धित सरकारी निकाय तथा अन्य सरोकारवालाबीच आवश्यक समन्वय गरी स्पष्ट कार्ययोजना र निश्चित समयसीमासहित भूमि समस्या समाधानको प्रक्रिया अघि बढाउन रास्वपाले आग्रह गरेको छ।
नागरिकको वर्षौंदेखिको समस्यासँग जोडिएको संवेदनशील विषय भएकाले कुनै पनि प्रकारको अनावश्यक ढिलासुस्ती नगरी निष्पक्ष, पारदर्शी, व्यवस्थित तथा परिणाममुखी ढंगले काम गर्न सम्बन्धित निकायलाई आग्रह गरिएको छ।
भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका क्रममा आवश्यक सहयोग गर्न रास्वपा इलाम तयार रहेकोसमेत ध्यानाकर्षणपत्रमार्फत जनाएको छ।
भूमि समस्या समाधानको विषयलाई राजनीतिक स्वार्थभन्दा माथि राख्दै नागरिकको वास्तविक समस्या समाधान हुने गरी समितिले आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्नुपर्नेमा रास्वपाले जोड दिएको छ।