इलाम । इलामको चुलाचुली गाउँपालिका–३ स्थित सुकुना खोलाबाट वन कर्मचारीको गस्ती टोलीले ७ थान सालको चिरान काठसहित काठ ओसारपसारमा प्रयोग भएको मोटरसाइकल बरामद गरेको छ। मंगलबार राति ११ः२५ बजे वन सहायक धनिरामसिंह कुशवाहा र वन सहायक सीता योगीको नेतृत्वमा चुलाचुली सब–डिभिजन वन कार्यालय, बारगोठेका कर्मचारी सम्मिलित संयुक्त गस्ती टोलीले काठसहित मे २ प २००५ नम्बरको हिरो हन्डा मोटरसाइकल बेवारिसे अवस्थामा फेला पारेको हो।
गस्तीका क्रममा काठ लोड गरिएको अवस्थामा मोटरसाइकल, ७ थान सालको चिरान काठ तथा तस्करीमा प्रयोग भएको भनिएको मोबाइलसहितको एक थान झोला बरामद गरिएको वन सहायक कुशवाहाले जानकारी दिए। वन कर्मचारी गस्तीमा रहेको थाहा पाएपछि काठ ओसारपसारमा संलग्न व्यक्ति काठ तथा मोटरसाइकल छाडेर फरार भएको जनाइएको छ। फरार व्यक्तिको खोजी भइरहेको कुशवाहाले बताए।
ठूलो संख्यामा वन कर्मचारी सरुवा तथा स्थानान्तरण भइरहेको अवस्थाको मौका छोपी वन तस्करहरू सक्रिय भएको हुनसक्ने वन कार्यालयले जनाएको छ। सीमित स्रोत–साधनका बाबजुद पनि वन संरक्षणका लागि डिभिजन वन कार्यालय, इलामले मातहतका सब–डिभिजन वन कार्यालयहरूलाई सघन रूपमा अहोरात्र परिचालन गरिरहेको सूचना अधिकारी भुवनमणि शर्माले बताए।