माईजोगमाई गाउँपालिकामा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई निस्सा वितरण कार्यक्रम सम्पन्न भएको छ। भूमिसम्बन्धी समस्या समाधान गर्दै वास्तविक लाभग्राहीलाई जग्गाको स्वामित्व प्राप्तिको प्रक्रियामा अघि बढाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
माईजोगमाई गाउँपालिका–१, नयाँबजारस्थित अमर कल्याण माध्यमिक विद्यालयको भवनमा आयोजित कार्यक्रममा गाउँपालिकाभित्रका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका लागि निस्सा वितरण गरिएको हो। कार्यक्रम माईजोगमाई गाउँपालिका अध्यक्ष कुशबहादुर थेवेको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा गाउँपालिका उपाध्यक्ष प्रविना राईको विशेष आतिथ्यता रहेको थियो।
त्यसैगरी कार्यक्रममा वडा नं ५ का वडाध्यक्ष निर्मलध्वज राई, वडा नं ६ का वडाध्यक्ष दिपेश सोङ्मी, लगायत विभिन्न वडाका जनप्रतिनिधि, वडा सदस्यहरू भक्तबहादुर चेमजोङ, कुमार तामाङ र निश्चल राई, सम्बन्धित वडाका वडा सचिवहरू, कर्मचारी, निस्साका आवेदक तथा स्थानीय सरोकारवालाहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष कुशबहादुर थेवेले भूमिसम्बन्धी समस्या लामो समयदेखि नागरिकले भोग्दै आएको समस्या भएकाले यसको समाधानका लागि स्थानीय तहबाट आवश्यक पहल र समन्वय भइरहेको बताए। भूमिहीन तथा अव्यवस्थित बसोबासीको समस्या समाधान गरी उनीहरूलाई राज्यले प्रदान गर्ने अधिकार र सेवासुविधाको पहुँचमा ल्याउनु स्थानीय सरकारको महत्वपूर्ण जिम्मेवारी भएको उनको भनाइ थियो।
गाउँपालिकाले भूमिसम्बन्धी समस्या समाधानका लागि आवश्यक प्रक्रिया अघि बढाउँदै वास्तविक भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको पहिचान र अभिलेखीकरण गर्ने कामलाई प्राथमिकता दिइरहेको जनाएको छ। निस्सा वितरणले सम्बन्धित आवेदकहरूलाई आफ्नो जग्गासम्बन्धी दाबी र आगामी प्रक्रियाका लागि महत्वपूर्ण आधार तयार हुने अपेक्षा गरिएको छ।
त्यस्तै, उपाध्यक्ष प्रविना राईले निस्सा प्राप्त गर्ने लाभग्राहीलाई आगामी प्रक्रियामा आवश्यक कागजात तथा विवरण सुरक्षित राख्न आग्रह गर्दै भूमिसम्बन्धी समस्या समाधानमा सबै पक्षबीच सहकार्य आवश्यक रहेको बताइन् । कार्यक्रममा सहभागी आवेदकहरूले लामो समयदेखि आफूहरूले भोग्दै आएको भूमिसम्बन्धी समस्याको समाधानतर्फ प्रक्रिया अघि बढेकोमा खुशी व्यक्त गरेका थिए।
उनीहरूले निस्सा वितरणपछि जग्गाको स्वामित्व प्राप्त गर्ने प्रक्रियाले थप गति लिने अपेक्षा गरेका छन्। माईजोगमाई गाउँपालिकाको भूमि समस्या समाधान समितिको आयोजनामा भएको उक्त कार्यक्रमले गाउँपालिकाभित्र भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने अभियानलाई थप प्रभावकारी बनाउने विश्वास गरिएको छ।
माईजोगमाईमा भुमिहिन दलित १४ , भुमिहिन सुकुम्बासी २२ , अव्यवस्थित बसोबासी ३८२ गरि जम्मा ४१८ वटा निवेदन प्राप्त भएको जानकारी रहेको छ ।