इलाम । इलामको देउमाई नगरपालिका–३ की जुनी राईले छैटौँ मिस्टर काठमाडौं बडीबिल्डिङ तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिप–२०८३ मा महिला फिजिकतर्फ प्रथम स्थान हासिल गरेकी छन्। काठमाडौं बडीबिल्डिङ एन्ड फिटनेस एसोसिएसनको आयोजनामा सम्पन्न प्रतियोगितामा राईले महिला फिजिक विधामा उत्कृष्ट प्रदर्शन गर्दै उपाधि हात पारेकी हुन्। उपाधिसंगै उनले ५० हजार प्राप्त गरिन् । प्रतियोगितामा सृजना घिसिङ दोस्रो र शान्ता पालिखेल तेस्रो भए।
नेपाल प्रहरीमा आबद्ध राई यसअघि पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलकुद प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएकी खेलाडी हुन्। उनी उसुको राष्ट्रिय खेलाडीसमेत हुन्। राईले १३औँ दक्षिण एसियाली खेलकुद (साग) मा उसुको स्वर्ण पदक जितेकी थिइन्। काठमाडौंमा सम्पन्न प्रतियोगितामा पुरुष बडीबिल्डिङका विभिन्न सात तौल समूहसँगै मेन्स स्पोर्ट्स फिजिक, मेन्स एथलेटिक फिजिक, महिला एथलेटिक फिजिक, महिला फिजिक, महिला बडीबिल्डिङ, जुनियर तथा मास्टर्स विधामा खेलाडीहरूले प्रतिस्पर्धा गरेका थिए।
पुरुष बडीबिल्डिङतर्फ ८० केजी तौल समूहका सगेन्द्र सिंह ओभरअल विजेता बने। सिंहले आफ्नो तौल समूहमा समेत प्रथम स्थान हासिल गर्दै प्रतियोगिताको मुख्य उपाधि जितेका हुन्। महिला बडीबिल्डिङतर्फ रिपु घर्ती प्रथम भइन्। मेन्स स्पोर्ट्स फिजिकमा १७० सेमीभन्दा कम उचाइतर्फ ज्ञानेश्वर चौधरी र १७० सेमीभन्दा माथितर्फ अशिम सिंह थापा विजेता बने।
मेन्स एथलेटिक फिजिकमा सुमन राई र शंकर गुरुङले आ–आफ्नो उचाइ समूहमा पहिलो स्थान हासिल गरे। जुनियरतर्फ सर्वेश सुनार प्रथम, बिवस पुरी दोस्रो र मुकेश मलिक तेस्रो भए। मास्टर्सतर्फ रमेश अधिकारी प्रथम, दिपककुमार तिम्सिना दोस्रो र नवराज डुम्रे तेस्रो भए।
प्रतियोगितामा काठमाडौंसहित झापा, मोरङ, पोखरा, चितवन, बुटवल, भैरहवा, इटहरी, विराटनगर, नेपालगन्ज, कञ्चनपुर, कैलाली, तनहुँ, काभ्रे, पर्सा, भक्तपुर र ललितपुरलगायत विभिन्न जिल्लाका जिम तथा फिटनेस सेन्टरबाट खेलाडीहरूको सहभागिता रहेको थियो।