इलाम : रसुवाको गोसाइँकुण्ड तीर्थयात्राका क्रममा आएको महाविपत्तिमा परी भदौ १० गतेदेखि बेपत्ता रहेका माई नगरपालिका–७ का नरेन्द्रप्रसाद दहालको धार्मिक विधिअनुसार अन्त्येष्टि गरिने भएको छ। माई नगरपालिका–७ निवासी दहाल साविक महमाई–६ का २०५४ सालका वडा अध्यक्षसमेत हुन्।
समाजसेवी तथा धार्मिक व्यक्तित्वका रूपमा परिचित दहाल गोसाइँकुण्ड तीर्थयात्राका लागि रसुवा पुगेका बेला विपत्तिमा परेका थिए। घटनापछि उनको अवस्था पत्ता लगाउन खोजी तथा उद्धारका प्रयास भए पनि हालसम्म उनको जीवित अवस्था वा शव फेला पर्न सकेको छैन। लामो समयसम्म खोजी गर्दा पनि अवस्था पत्ता लाग्न नसकेपछि परिवारले बाध्यात्मक परिस्थितिमा धार्मिक परम्पराअनुसार अन्त्येष्टि गर्ने निर्णय गरेको जनाएको छ।
दहालको भदौ २१ गते आइतबार बिहान ११ बजे स्थानीय माई खोलामा धार्मिक विधिअनुसार अन्त्येष्टि गरिने पत्रकार हरि असिमले जानकारी दिए । स्थानीयस्तरमा समाजसेवा तथा धार्मिक गतिविधिमा समेत सक्रिय रहेका उनी सामाजिक व्यक्तित्वका रूपमा परिचित थिए।