इलाम । इलामको क्लब ओएसिसले ‘प्रथम गौरादह महिला फुटबल प्रतियोगिता–२०८३’ को क्वार्टरफाइनलमा काँकडभिट्टा वुमन्स फुटबल क्लबसँग प्रतिस्पर्धा गर्ने भएको छ। स्पर्श सामाजिक क्लब, गौरादह–झापाको आयोजनामा भदौ १९ गतेदेखि सुरु हुने प्रतियोगितामा इलामको प्रतिनिधित्व गर्दै सहभागी भएको क्लब ओएसिसले भदौ २१ गते काँकडभिट्टा महिला एफसीसँग प्रतिस्पर्धा गर्ने खेलतालिका सार्वजनिक भएको छ।
गौरादह–१ स्थित जनता माध्यमिक विद्यालयको खेल मैदानमा हुने प्रतियोगितामा नेपाल र भारतका ८ टिमको सहभागिता रहेको छ । भदौ २८ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ।
त्यसैगरी प्रतियोगितामा प्लेयर अफ द म्याच, प्लेयर अफ द टुर्नामेन्ट, उत्कृष्ट डिफेन्डर, गोलकिपर, मिडफिल्डर, स्ट्राइकर तथा सर्वाधिक गोलकर्तालाई समेत पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।