Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

मनोविमर्शकर्तालाई मेलमिलापसम्बन्धी ८ दिने आधारभूत तालिम सम्पन्न

मनोविमर्शकर्तालाई मेलमिलापसम्बन्धी ८ दिने आधारभूत तालिम सम्पन्न

  • सन्देश सम्वाददाता
  • मंगलबार, भाद्र १६ २०८३


मनोविमर्शकर्तालाई मेलमिलापसम्बन्धी ८ दिने आधारभूत तालिम सम्पन्न

इलाम : मनोसामाजिक मनोविमर्शकर्ताहरूका लागि सञ्चालन गरिएको मेलमिलापसम्बन्धी ८ दिवसीय आधारभूत तालिम मंगलबार इलाममा सम्पन्न भएको छ। जिआईजेड/जेडएफडिको आर्थिक सहयोग, मानव अधिकार मञ्च इलामको आयोजना तथा राष्ट्रिय मनोविमर्शकर्ता महासंघ नेपाल, कोशी प्रदेशको सहआयोजनामा सञ्चालन भएको तालिममा कोशी प्रदेशका विभिन्न जिल्लामा कार्यरत मनोसामाजिक मनोविमर्शकर्ताहरूको सहभागिता रहेको थियो।

तालिमको समापन समारोह मानव अधिकार मञ्च इलामका अध्यक्ष मोहनसिंह थेवेको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा जिल्ला अदालतका न्यायाधीश चुरामन खड्का प्रमुख अतिथिका रूपमा सहभागी थिए । समापन कार्यक्रममा संस्थागत गतिविधिबारे जानकारी गराउँदै मानव अधिकार मञ्च इलामका कार्यकारी निर्देशक देवेन्द्र विश्वकर्माले संस्था द्वन्द्वकालको विषम परिस्थितिदेखि नै मेलमिलापको क्षेत्रमा काम गर्दै आएको बताए ।

तालिमपछि प्रतिक्रिया दिँदै कोशी गाउँपालिकाकी मनोविमर्शकर्ता कविता मण्डलले तालिममा सिकेका विषय आफूले गरिरहेको काममा उपयोगी हुने बताइन् । उनले द्वन्द्वरत पक्षहरूबीच दुवै पक्षको जित सुनिश्चित गर्न सकिने भएकाले मेलमिलापलाई प्रभावकारी औजारका रूपमा लिएको बताइन् । त्यस्तै, राष्ट्रिय मनोविमर्शकर्ता महासंघ नेपालका केन्द्रीय सदस्य गोविन्द कट्टेलले मनोविमर्शमा गरिने गतिविधि र मेलमिलाप प्रक्रियामा गरिने कामलाई अझ गहिरो रूपमा विश्लेषण गर्न सिक्नु तालिमको महत्वपूर्ण पक्ष रहेको बताए।

तालिमबाट आफ्नो व्यावसायिकसँगै व्यक्तिगत जीवनमा समेत सकारात्मक परिवर्तन आउने अपेक्षा रहेको उनको भनाइ थियो। प्रमुख अतिथि जिल्ला अदालतका न्यायाधीश चुरामन खड्काले विवाद समाधानका लागि अदालती प्रक्रिया लामो र खर्चिलो हुने भएकाले मेलमिलाप विवाद समाधानको उत्तम उपाय भएको बताए। उनले मेलमिलापकर्ताले के गर्न हुने र के गर्न नहुने विषय स्पष्ट रूपमा छुट्याएर जिम्मेवारीपूर्वक काम गर्नुपर्नेमा जोड दिए ।

न्यायाधीश खड्काले विपद्का कारण प्रभावित व्यक्तिहरूलाई अहिले मनोविमर्शकर्ताहरूको आवश्यकता रहेको उल्लेख गर्दै आफूले हासिल गरेको विज्ञता विपद् प्रभावित क्षेत्रमा समेत प्रयोग गर्न आग्रह गरे । कार्यक्रमका अध्यक्ष तथा मानव अधिकार मञ्च इलामका अध्यक्ष मोहनसिंह थेवेले मनोविमर्शकर्ताहरूसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताए ।

मेलमिलाप प्रक्रियामा मनोविमर्शकर्ताहरूलाई सहभागी गराउँदा विवादित पक्षहरूको मनोभावना तथा समस्याको भित्री तहसम्म पुगेर काम गर्न सकिने भएकाले तालिम आयोजना गरिएको उनले स्पष्ट पारे । तालिमको सहजीकरण पारस राई , मनकुमार बराइली र यामकुमार माबोले गरेका थिए । कार्यक्रमको सञ्चालन परियोजना प्रमुख सन्तोष मगरले गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार