Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

राहत कोषमा जम्मा भयो ४ अर्ब ३८ करोड

राहत कोषमा जम्मा भयो ४ अर्ब ३८ करोड

  • सन्देश सम्वाददाता
  • शनिबार, भाद्र १३ २०८३


राहत कोषमा जम्मा भयो ४ अर्ब ३८ करोड
  • भोटेकोशी बाढी प्रभावितको उद्धार, उपचार, राहत र पुनर्निर्माणका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा शुक्रबार साँझसम्म ४ अर्ब ३८ करोड ८ लाख ५२ हजार २ सय ५२ रुपैयाँ संकलन भएको छ।
  • विभिन्न बैंक, उद्योग–व्यवसाय, बीमा कम्पनी तथा व्यक्तिहरूले सहयोग र प्रतिबद्धता जनाउँदै कोषमा योगदान गर्ने क्रम बढाएका छन्।

काठमाडौँ — भोटेकोशीमा बुधबार आएको बाढीबाट प्रभावितको उद्धार, बेपत्ताको खोजी, घाइतेको उपचार, खाद्यान्न तथा सुरक्षित बासस्थानको व्यवस्था र क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम जुट्ने क्रम बढेको छ । शुक्रबार पनि विभिन्न व्यक्ति तथा संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग तथा सहयोगको प्रतिबद्धता जनाएको अर्थ मन्त्रालयले जनाएको छ ।

अर्थमन्त्रीको सचिवालयका अनुसार कोषमा शुक्रबार साँझ साढे ६ बजेसम्म ४ अर्ब ३८ करोड ८ लाख ५२ हजार २ सय ५२ रुपैयाँ संकलन भएको छ । यो ९ वटा वाणिज्य बैंकका खातामा जम्मा भएको रकम हो । थप दुई बैंक हिमालयन र लक्ष्मीमा ६ लाख ८० हजार ६ सय १८ अमेरिकी डलर ९करिब १० करोड ३८ लाख रुपैयाँ० जम्मा भएको सचिवालयको भनाइ छ ।

राहत कोषमा सूर्य नेपाल प्रालिले १५ करोड रुपैयाँ सहयोग गरेको छ । कम्पनीका प्रबन्ध निर्देशक गौरव तयाल, उपाध्यक्षद्वय डिप्रा लहेरी र रवि केसी तथा महाप्रबन्धक प्रेम अर्यालले शुक्रबार अर्थमन्त्री स्वर्णिम वाग्लेलाई उक्त रकमको चेक हस्तान्तरण गरे । कोषमा पद्मज्योति समूहले ५ करोड सहयोग गरेको छ । प्रभावितहरूको सामान्य जीवन पुनःस्थापनाका लागि सामूहिक प्रयास महत्त्वपूर्ण हुने भएकाले कम्पनीले सहयोग गरेको ज्योति समूहले जनाएको छ ।

यसैगरी प्राइम कमर्सियल बैंकले ३ करोड १ लाख, कृषि विकास बैंकले ३ करोड रुपैयाँ र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २ करोड ५१ लाख सहयोग गरेका छन् । एसियन लाइफ इन्स्योरेन्स कम्पनीले १ करोड १ लाख, मोरङ अटो वर्क्सले १ करोड ११ लाख तथा एग्रो थाई फुड्स प्रालिले १ करोड सहयोग गरेका छन् ।

सूर्यज्योति लाइफ इन्स्योरेन्सले १ करोड, उद्योगी विजयकुमार शाहले १ करोड, पद्मज्योति समूहअन्तर्गतको स्याकार ट्रेडिङले १ करोड, डब्लूएफ नेपालले १ करोड, जावलाखेल डिस्टिलरीले १ करोड, हिमालयन डिस्टिलरीले १ करोड, अल्फा अटोमोटिभ प्रालिले १ करोड र सोलु हाइड्रोपावरका प्रतिनिधिले १ करोड रुपैयाँ कोषमा योगदान गरेको जनाइएको छ ।

व्यक्तिगततर्फ राजी राणाले १ करोड ९ लाख ८० हजार रुपैयाँ सहयोग गरेकी छन् । ८७ वर्षीया राणाले शुक्रबार अर्थमन्त्री वाग्लेलाई उक्त रकम हस्तान्तरण गरेकी हुन् । राहत कोषमा इन्स्योरेन्स कम्पनीहरूले पनि सहयोग जम्मा गरिरहेका छन् । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले ७२ लाख सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । उक्त रकममध्ये ५१ लाख कम्पनीका तर्फबाट र २१ लाख रुपैयाँ सञ्चालक समिति तथा कर्मचारीबाट संकलन गरिने इन्स्योरेन्सले बताएको छ ।

यसैगरी नेपाल सिमेन्ट उत्पादक संघले कोषमा ५१ लाख र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले ५१ लाख, मुक्तिनाथ विकास बैंकले ५० लाख रुपैयाँ र लुम्बिनी विकास बैंकले २५ लाख रुपैयाँ सहयोग गरेका छन् । राहत कोषमा कामना सेवा विकास बैंकले २५ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकका अनुसार १० लाख रुपैयाँ संस्थागत सामाजिक उत्तरदायित्व ९सीएसआर० अन्तर्गत र बाँकी १५ लाख रुपैयाँ कर्मचारीको एक दिनको तलबबाट संकलन गरिएको हो ।

मेटलाइफ नेपालले ३० लाख रुपैयाँ, ग्लोबल आईएमई क्यापिटलले १० लाख र नेपाल चिया विकास कर्पोरेसनले ११ लाख रुपैयाँ सहयोग गरेका छन् । यसैगरी नेपाल उद्योग परिसंघको समन्वयमा परिसंघ सदस्य संस्थाहरूबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड २९ लाख १५ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरिएको छ ।

अध्यक्ष वीरेन्द्रराज पाण्डे नेतृत्वको परिसंघ टोलीले शुक्रबार अर्थमन्त्री वाग्लेलाई परिसंघ सदस्य संस्था तथा व्यक्तिगत सहयोग स्वरूप चेक हस्तान्तरण गरेको छ । शुक्रबार नै एमएडब्लू ग्रुपबाट परिसंघका पूर्वअध्यक्ष विष्णुकुमार अग्रवालले १ करोड ११ लाख हस्तान्तरण गरेका छन् । यसैगरी चौधरी ग्रुप र नबिल बैंकबाट १५ करोडभन्दा बढीको सहयोग प्रदान भएको बताइएको छ । नेपाल आदर्श निर्माण कम्पनीबाट पनि १० लाख रुपैयाँ सहयोगको प्रतिबद्धता आएको छ ।

गुड होम प्रडक्ट्सबाट २ लाख २१ हजार, ब्रिटिस कलर इन्डस्ट्रिजबाट २ लाख १० हजार, लाङटाङ रि–ट्रेकिङबाट १ लाख १२ हजार, कास ट्रेडिङबाट १ लाख ११ हजार १ सय ११, सिल्भर लाइनिङबाट १ लाख ११ हजार १ सय ११, ग्लोकल प्रालिबाट ५० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरिएको परिसंघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार