इलाम । भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा जनधनको क्षति भएपछि माई नगरपालिकाले विपद् प्रभावितका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। माई नगरपालिकाको नगर कार्यपालिकाको २०८३ भदौ ११ गते बसेको ६५औँ बैठकले बाढी तथा विपद्बाट प्रभावित नागरिकका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख रुपैयाँ जम्मा गर्ने निर्णय गरेको हो।
नगरपालिकाका अनुसार उक्त सहयोग रकम व्यवस्थापनका लागि नगरका सम्पूर्ण जनप्रतिनिधिहरूको तर्फबाट १५ दिन बराबरको सेवा–सुविधा तथा नगरपालिकाका कर्मचारीहरूको तर्फबाट २ दिन बराबरको पारिश्रमिक सहयोगस्वरूप उपलब्ध गराइनेछ। बाँकी आवश्यक रकम नगरपालिकाको विपद् व्यवस्थापन कोषबाट थप गर्ने निर्णय गरिएको छ।
यसैबीच, नगरपालिकाले भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
विपद्को समयमा स्थानीय तहबाट पीडित तथा प्रभावित नागरिकलाई सहयोग र राहत उपलब्ध गराउने उद्देश्यले माई नगरपालिकाले गरेको यो निर्णय मानवीय सहयोग र सामाजिक उत्तरदायित्वको भावना अनुरूप भएको नगर प्रमुख खम्बा सिं लिम्बुले बताए ।