Local Sandesh बुधबार, भाद्र १० २०८३
  • ट्रेण्डिङ :

माई नगरपालिकामा पहिलोपटक मेयर कप फुटबल, असोज १७ देखि प्रतियोगिता

माई नगरपालिकामा पहिलोपटक मेयर कप फुटबल, असोज १७ देखि प्रतियोगिता

  • सन्देश सम्वाददाता
  • सोमबार, भाद्र ८ २०८३


माई नगरपालिकामा पहिलोपटक मेयर कप फुटबल, असोज १७ देखि प्रतियोगिता

इलाम । इलामको माई नगरपालिकामा पहिलोपटक नगरस्तरीय मेयर कप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। नगर खेलकुद विकास समितिको बैठकले आगामी २०८३ असोज १७ गतेदेखि पुरुष, भेट्रान्स र अन्डर–१५ विधामा प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको हो। नगर खेलकुद विकास समितिका संयोजक खम्बासिंह लिम्बूको अध्यक्षतामा बसेको बैठकले माई नगरपालिका–१ देखि १० सम्मका वडाबाट खेलाडी सहभागी गराएर प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको हो।

प्रतियोगिताका खेलहरू माई नगरपालिका–२ स्थित सितली खेलमैदानमा सञ्चालन हुनेछन्। प्रतियोगिताअन्तर्गत मेयर पुरुष फुटबल कप ९ साइड संरचनामा सञ्चालन हुनेछ। यसमा प्रत्येक टोलीबाट तीन जना वडाबाहिरका तथा अन्य खेलाडी सम्बन्धित वडा क्षेत्रभित्रका हुनुपर्ने व्यवस्था गरिएको छ। त्यस्तै, मेयर पुरुष भेट्रान्स कपमा ३० वर्षभन्दा माथिका तीन जना र ३५ वर्षभन्दा माथिका खुला खेलाडी सहभागी हुन पाउनेछन्।

मेयर पुरुष अन्डर–१५ कप भने १० देखि १५ वर्ष उमेर समूहका खेलाडीबीच ९ साइड संरचनामै सञ्चालन गरिनेछ।
पुरुष कपको विजेतालाई २ लाख
प्रतियोगिताका विजेता तथा उपविजेतालाई नगद पुरस्कारसहित मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। पुरुष मेयर कपको विजेताले रु २ लाख र उपविजेताले रु १ लाख प्राप्त गर्नेछन्। भेट्रान्स कपको विजेतालाई रु ५० हजार तथा उपविजेतालाई रु ३५ हजार पुरस्कार प्रदान गरिनेछ। यस्तै, अन्डर–१५ कपको विजेताले रु २० हजार र उपविजेताले रु १५ हजार प्राप्त गर्नेछन्।  प्रतियोगिता सञ्चालन तथा व्यवस्थापनका लागि नगरपालिकाले स्वयंसेवक परिचालन गर्ने भएको छ। प्रतियोगिता व्यवस्थापनका लागि लाखमान तामाङलाई संयोजक तोक्दै विभिन्न व्यक्तिलाई स्वयंसेवकका रूपमा छनोट गरिएको आयोजकले जनाएको छ।
एन्जिला तुम्बापोलाई विशेष सम्मान
माई नगरपालिकाले प्रतियोगिताको फाइनल अवसरमा इलामकी स्थायी बासिन्दा तथा नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी सदस्य एन्जिला तुम्बापोलाई विशेष सम्मान गर्ने भएको छ। उत्कृष्ट खेल प्रदर्शन गर्दै राष्ट्रिय टोलीसम्म पुगेकी तुम्बापोलाई रु। ३० हजार नगदसहित सम्मान गर्ने निर्णय गरिएको माई नगर खेलकुद विकास समितिका सहसंयोजक कुमार लिम्बूले जानकारी दिए।

माई नगरपालिकामा पहिलोपटक आयोजना हुन लागेको मेयर कपले स्थानीयस्तरमा फुटबलको विकाससँगै नयाँ प्रतिभाको पहिचान र खेलाडीको क्षमता विकासमा योगदान पुग्ने अपेक्षा गरिएको छ। प्रतियोगिताले नगरका १० वटै वडालाई खेलकुदमार्फत जोड्नुका साथै युवामा फुटबलप्रतिको आकर्षण बढाउने आयोजकको विश्वास छ।

प्रतियोगिताको फाइनल खेल असोज २९ गते हुने आयोजकले जनाएको छ। प्रतियोगितालाई आगामी वर्षहरूमा थप व्यवस्थित र व्यापक बनाउँदै लैजाने लक्ष्यसमेत नगर खेलकुद विकास समितिले लिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार