इलाम : आइतबार दिउँसो हावाहुरी र वर्षासँगै परेको चट्याङका कारण इलामका विभिन्न स्थानमा एक युवक घाइते भएका छन् भने दुई गाई र एक पाडा मरेका छन्। माङसेबुङ गाउँपालिका–३ खलङ्गेमा वाइफाइ जडान गर्ने क्रममा चट्याङ लाग्दा माङसेबुङ–४ सिङफिरेका करिब २२ वर्षीय विक्रम लावती घाइते भएका छन्।
फलामको पोलमुनि रहेका बेला चट्याङ लागेर बेहोस भएका लावतीलाई उपचारका लागि दमकस्थित आम्दा अस्पताल लगिएको थियो। उनको अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। यस्तै, देउमाई नगरपालिका–९ सरदार गाउँमा डिल्लीकुमार माबोहाङको घरमा चट्याङ पर्दा विद्युत् मिटर बक्स पूर्ण रूपमा क्षतिग्रस्त भएको छ।
चट्याङकै कारण गोठमा रहेको एउटा पाडा मरेको प्रहरीले जनाएको छ। उक्त घटनाबाट करिब ६५ हजार रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक विवरण छ। यसैगरी, सूर्योदय नगरपालिका–१३ कोल्बोटेमा मानविर नेम्बाङको गोठमा चट्याङ पर्दा बाँधेर राखिएका दुईवटा गाई मरेका छन्। उक्त घटनामा भने मानवीय क्षति नभएको इलाम प्रहरीले जनाएको छ।
आइतबारको वर्षासँगै परेको चट्याङका कारण जिल्लाका विभिन्न स्थानमा जनधनको क्षति भएको प्रहरीले जनाएको छ। घटनाबारे थप विवरण संकलन भइरहेको छ।