चुलाचुली । चुलाचुली गाउँपालिकामा भूमि प्रशासन सेवा औपचारिक रूपमा सञ्चालनमा आएको छ। सेवा सञ्चालनसँगै अब स्थानीय नागरिकले मालपोत तथा नापीसम्बन्धी अधिकांश कामका लागि जिल्ला सदरमुकाम इलाम धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ।
यसअघि चुलाचुलीका सेवाग्राहीहरू जग्गा प्रशासनसम्बन्धी कामका लागि घण्टौँ यात्रा गरेर सदरमुकाम पुग्नुपर्ने र काम सम्पन्न नभएमा कयौँ दिनसम्म बस्नुपर्ने अवस्था थियो। गाउँपालिकाको विशेष पहलमा प्रदेश तथा संघीय सरकारबाट सेवा सञ्चालनको स्वीकृति प्राप्त भएपछि स्थानीयस्तरमै भूमि प्रशासनसम्बन्धी सेवा उपलब्ध हुन थालेको हो।
भूमि प्रशासन अधिकृत उत्सव कट्टेलका अनुसार अत्यन्त जटिल प्रकृतिका कामबाहेक अधिकांश सेवा अब चुलाचुलीबाटै प्राप्त गर्न सकिनेछ। उनका अनुसार अंशबण्डा, राजीनामालगायतका विभिन्न मालपोतसम्बन्धी कार्य आजैदेखि नियमित रूपमा सञ्चालनमा आएका छन्।
“कसैको धनीपुर्जा अध्यावधिक नभएको, अनलाइन प्रणालीमा फोटो समावेश नभएको वा अन्य जटिल प्राविधिक तथा कानुनी समस्या भएका अवस्थामा मात्रै जिल्ला सदरमुकाम जानुपर्ने हुन सक्छ,” कट्टेलले भने, “मालपोत नियमावलीको नवौँ संशोधनअनुसार पहिलो चरणका अधिकांश सेवाहरू सहज रूपमा उपलब्ध गराइनेछ।”
गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले नागरिकको सास्ती कम गर्ने लक्ष्यसहित अघि बढाइएको प्रयास सफल भएको बताए। “हामी निर्वाचित भएलगत्तै देखेको सपना आज पूरा भएको छ,” अध्यक्ष केरुङले भने, “यस कार्यका लागि आवश्यक सहजीकरण गर्ने प्रदेश तथा संघीय सरकार र सहयोग गर्ने सम्पूर्ण जनप्रतिनिधिप्रति धन्यवाद व्यक्त गर्न चाहन्छु।”
स्थानीयवासीले गाउँमै सेवा उपलब्ध भएपछि समय, खर्च र झन्झटको उल्लेखनीय बचत हुने विश्वास व्यक्त गरेका छन्।