इलाम । सूर्योदय नगरपालिका–८ कन्याम बुद्ध टोलमा अज्ञात कुकुरको आक्रमणबाट एक किसानले पालेका चारवटा बाख्रा मरेका छन्। स्थानीय किसान कालु सिंह योल्मुले बारीमा दाम्लो लगाएर चराइरहेका बाख्रामाथि मंगलबार दिउँसो करिब २ बजे अज्ञात कुकुरले आक्रमण गरेको हो।
कुकुरको आक्रमणबाट एउटा ब्याउने माउ बाख्रा, दुईवटा हुर्किएका खसी र एउटा पाठी गरी चारवटा बाख्रा मरेको स्थानीय प्रकाश भट्टराईले जानकारी दिए । बारीमा चराउन राखिएका बाख्रामाथि अचानक कुकुरले आक्रमण गरेपछि घटना भएको हो। आक्रमण गर्ने कुकुर घटनापछि भागेको बताइएको छ। कुकुर कसको हो भन्ने अहिलेसम्म पहिचान हुन सकेको छैन।
घटनापछि पीडित किसानले सम्बन्धित निकायसँग क्षतिको मूल्यांकन गरी राहत तथा उचित क्षतिपूर्तिको व्यवस्था गर्न माग गरेका छन्। स्थानीयवासीले पनि घरपालुवा कुकुरलाई खुला रूपमा छाड्ने प्रवृत्ति रोक्न आग्रह गरेका छन्। कुकुर नियन्त्रणमा नराख्दा अन्य किसानका पशुचौपायामा क्षति पुग्नुका साथै मानिसलाई समेत जोखिम हुन सक्ने भएकाले कुकुरधनी जिम्मेवार बन्नुपर्ने उनीहरूको भनाइ छ।
पीडित किसानलाई तत्काल राहत उपलब्ध गराउन तथा आक्रमणमा संलग्न कुकुरको पहिचान गरी सम्बन्धित धनी पत्ता लगाउन वडा कार्यालय र नगरपालिकाले पहल गर्नुपर्ने भट्टराईले बताए ।