फिक्कल : इलामको सूर्योदय नगरपालिकामा नगरस्तरीय बाल सञ्जाल पुनर्गठन गरिएको छ। नगरपालिकाको महिला, बालबालिका तथा समाज कल्याण शाखाको समन्वय तथा नगर बाल सञ्जालको आयोजनामा सञ्जाल पुनर्गठन गरिएको हो। निर्मल गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सूर्योदय नगरपालिकाका कार्यवाहक नगरप्रमुख डोलेन्द्र भारद्वाज प्रमुख अतिथि तथा महिला, बालबालिका तथा समाज कल्याण शाखा प्रमुख तारा शेर्पा विशेष अतिथिका रूपमा सहभागी भएका थिए।
पुनर्गठनबाट प्रवल राई अध्यक्ष, प्रस्तुती गिरी उपाध्यक्ष, सन्जु पौडेल सचिव, सोफिना खड्का सहसचिव र योजना अधिकारी कोषाध्यक्षमा चयन भएका छन्। त्यसैगरी, सदस्यहरूमा अनामिका निरौला, सोहन लिम्बु, समर्पण पराजुली, प्रतिसा ढकाल, सूचना लेप्चा, रेखा लोहार, सृष्टि निरौला, निशा कार्की, कृषा भारती, नवीन खड्का, मनन खड्का र अर्पण पराजुली चयन भएका छन्।
कार्यक्रममा बालअधिकार संरक्षण, बाल सहभागिता तथा बालमैत्री स्थानीय शासनलाई थप प्रभावकारी बनाउने विषयमा छलफल गरिएको थियो। नगर बाल सञ्जालले नगरभित्रका बालबालिकाका समस्या र सरोकारलाई सम्बन्धित निकायसम्म पुर्याउने, बालअधिकारको संरक्षण गर्ने तथा बालबालिकाको सहभागिता सुनिश्चित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
शाखा प्रमुख शेर्पाले बालमैत्री तथा बालश्रममुक्त स्थानीय शासन प्रणालीलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न नगर बाल सञ्जालको पुनर्गठन महत्त्वपूर्ण कदम भएको बताइन्।