Local Sandesh आइतबार, साउन ३१ २०८३
  • ट्रेण्डिङ :

नेतृत्व छाड भन्नेलाई इलाममा ओलीको चेतावनी : बस्न मन नभए पार्टी छाडे हुन्छ, मनपरितन्त्र चल्दैन

नेतृत्व छाड भन्नेलाई इलाममा ओलीको चेतावनी : बस्न मन नभए पार्टी छाडे हुन्छ, मनपरितन्त्र चल्दैन

  • सन्देश सम्वाददाता
  • शनिबार, साउन ३० २०८३


नेतृत्व छाड भन्नेलाई इलाममा ओलीको चेतावनी : बस्न मन नभए पार्टी छाडे हुन्छ, मनपरितन्त्र चल्दैन

फिक्कल । नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफूले नेतृत्व नछाड्ने स्पष्ट पारेका छन् । लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ बैठकलाई सम्बोधन गर्न इलाम आएका ओलीले पार्टी अफ्यारो परेको बेलामा नेतृत्व छाडेर नहिँड्ने बताए । उनले भने, ‘अहिले अलिकति अनुशासनहीनता देखापरेको छ । पार्टी कार्यालयको क्यान्टिनमा बसेर केही हल्ला राखेका छन् । अध्यक्षलाई हटाउने रु कसले हटाउने रु के मजाक हो यो रु यस्तो अराजकता हुन्छ ? कोही हस्ताक्षर गर्दै हिँड्या छ।’

उनले पार्टी पुनर्गठनको बहस गर्नेहरूलाई आवाराको संज्ञा दिए । उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेललगायत नेताहरू ओलीको विकल्प खोज्नुपर्ने पक्षमा उभिएका छन् । उनले आफूले नेतृत्व नछाड्ने बताए । उनले थपे, ‘विरोधीले तीव्र प्रहार गरेको छ, हामीलाई झेल्न मुस्किल भइराखेको छ । एकताबद्ध पार्टीले सामना गर्नुपर्ने बेलामा अध्यक्ष हटाउँछौँ भन्या छ । यो केही हुनेवाला होइन । अब केन्द्रीय कमिटीको बैठक पछि पार्टीलाई दृढ अनुशासनका साथ एकताबद्ध बनाएर लगिनेछ । अनुशासनका साथ लगिनेछ ।’

उनले पार्टीमा अराजकता र मनपरितन्त्र नचल्ने चेतावनी दिए । उनले भने, ‘पार्टीको विरोध गरेर हिँड्ने, सामाजिक सञ्जालमा जेपायो त्यही लेख्ने कुरा हुँदैन । पार्टीमा बस्ने हो भने पार्टीको अनुशासनमा बस्नुपर्छ । अर्को पार्टीमा जाने हो भने त्यही पार्टीको अनुशासन के के छ, त्यही गरे हुन्छ । चुप लागेर घरमा बस्ने भए बसे हुन्छ। तर पार्टीमा काम गर्ने हो अनुशासन चाहिन्छ । कुनै संस्थामा काम गर्दा त्यो संस्थाको नीति, नियम, विधि, अनुशासन पालना गर्नुपर्छ। यो कुरा कार्यान्वयन गरेर गइन्छ ।’

उनले विधि–विधान विपरीत जानेहरूमाथि कारबाही हुने चेतावनी दिए । उनले आफूले अर्को महाधिवेशनसम्मका लागि पार्टी चलाउनका लागि कार्यकर्ताबाट अत्याधिक मतसहित जितेर नेतृत्वमा आएको बताए । कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले संविधानले सुनिश्चित गरेको आदिवासी जनजातिको अधिकारको सवालमा आफ्नो पार्टी प्रतिबद्ध रहेको बताए ।

“आदिवासी जनजातिको अधिकार, भाषा, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनका लागि एमाले सधैँ प्रतिबद्ध छ”, ओलीले भन्नुभयो, “सबैको सहअस्तित्वलाई बलियो बनाउँदै राष्ट्रिय एकतालाई थप मजबुत बनाउनुपर्छ ।” एमालेले विगतदेखि समावेशी लोकतन्त्र, सामाजिक न्याय र समान अवसरको वकालत गर्दै आएको दाबी गर्दै अध्यक्ष ओलीले विभिन्न जातजातिका नाममा विभाजन र द्वन्द्व सिर्जना गर्नेभन्दा सबै समुदायलाई सहअस्तित्वका आधारमा अधिकार र अवसर प्रदान गर्दै राष्ट्रिय हितमा लाग्नुपर्ने बताए ।

बैठकमा लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घको साङ्गठनिक अवस्था, आगामी कार्ययोजना, आदिवासी जनजातिको सवाल एवं समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार