Local Sandesh बिहिबार, साउन २८ २०८३
  • ट्रेण्डिङ :

इलाममा लागूऔषधसहित दुई पक्राउ

इलाममा लागूऔषधसहित दुई पक्राउ

  • सन्देश सम्वाददाता
  • बिहिबार, साउन २८ २०८३


इलाममा लागूऔषधसहित दुई पक्राउ

इलाम । इलामको चुलाचुली गाउँपालिकाबाट लागूऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन्। जिल्लाका विभिन्न स्थानमा प्रहरीले सञ्चालन गरेको लागूऔषध नियन्त्रण अभियानअन्तर्गत चुलाचुली गाउँपालिका–३ बाट दुई जना पक्राउ परेका हुन्।

प्रहरी चौकी पेल्टिमारीबाट खटिएको प्रहरी टोलीले चुलाचुली गाउँपालिका–३ का २९ वर्षीय अमर राई र २४ वर्षीय विकास गिरीलाई ५ ग्राम ३८० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो। पक्राउ परेका दुवै जनामाथि सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसैबीच, साउन २७ गते झापा, सुनसरी र इलामका विभिन्न स्थानमा प्रहरीले लागूऔषधसहित ९ जनालाई पक्राउ गरेको जनाएको छ। झापाको मेचीनगर नगरपालिका–६ स्थित पुरानो मेचीपुलबाट अर्जुनधारा नगरपालिका–११ का २३ वर्षीय मानजित करुवा ५ ग्राम २१० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ परेका छन्।

त्यस्तै, सुनसरीको धरान उपमहानगरपालिका–१९ बाट १७ वर्षीय ईमन तेम्बे र ३३ वर्षीया अमृत लिम्बु ६६० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ परेका छन्। इनरुवा नगरपालिका–३ बाट इटहरी उपमहानगरपालिका–२० का ३१ वर्षीय दिपेन्द्र राई ५ ग्राम ४ मिलिग्राम ब्राउन सुगरसहित पक्राउ परेका छन्।

धरान–८ का २८ वर्षीय बुद्ध लिम्बु र २२ वर्षीय साइमन राईलाई प्रतिबन्धित औषधि ट्रामाडोल १७० क्याप्सुल, स्पास्पेन १७० चक्की र कोलिवान ५० पिससहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। भारतको बिहारका १९ वर्षीय ईस्मत उल्हा ३०४ ग्राम ११० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ परेका छन्।

प्रहरीका अनुसार पक्राउ परेका सबैमाथि लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार