- प्यूठानको माडी खोला किनारमा पाँच वटा शव फेला परेका छन् ।
- यी शव रोल्पाको थबाङ गाउँपालिका-५, बोटलबारा क्षेत्रमा पहिरोले घर र गोठ पुरिँदा बेपत्ता भएकाहरूको हुन सक्ने अनुमान गरिएको छ ।
- रोल्पामा पहिरोमा परी नौ जना बेपत्ता भएका थिए, जसमध्ये पाँच जनाको शव प्यूठानमा भेटिएको हो ।
बुटवल । प्यूठानको खोला किनारमा आज पाँच जनाको शव फेला परेको छ । स्वर्गद्वारी नगरपालिका–९, जुडापाटास्थित माडी खोलाको किनारमा पाँच वटा शव फेला परेका हुन् । प्रहरीका अनुसार ती शव रोल्पाको थबाङ गाउँपालिका–५, बोटलबारा क्षेत्रमा गएराति पहिरोले घर तथा गोठ पुरिँदा बेपत्ता भएकाहरूको हुन सक्ने अनुमान गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख डीएसपी नरहरि अधिकारीले माडी खोलामा पाँच वटा शव फेला परेको पुष्टि गरे । उनका अनुसार प्यूठानमा मानिस हराएको वा पहिरो गएको घटना नभएकाले माथिल्लो क्षेत्र रोल्पाबाट बाढीले बगाएर शव प्यूठानसम्म ल्याएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ ।
‘यहाँ मानिस हराएको वा पहिरो गएको छैन । त्यसकारण माथि रोल्पाबाट पहिरोमा परेकाहरूका शव बगेर यहाँ आएको हुन सक्ने अनुमान गरेका छौँ,’ डीएसपी अधिकारीले बताए । उनका अनुसार फेला परेका शवका तस्वीर रोल्पा प्रहरीलाई पठाइएको छ । तस्वीरका आधारमा केही शव पहिचान हुन सक्ने सम्भावना रहेको प्रहरीले जनाएको छ ।
रोल्पाका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले पनि रोल्पाको पहिरोमा बेपत्ता भएकाहरूका शव प्यूठानमा भेटिएको हुन सक्ने सम्भावना रहेको बताए । उनका अनुसार रोल्पाको लुंगी खोला माडी खोलामा मिसिने भएकाले बाढीले पहिरोमा परेका मानिस तथा शवलाई बगाएर प्यूठानसम्म ल्याएको हुन सक्ने सम्भावना छ ।
‘लुंगी खोला माडीमै मिसिन्छ । त्यसैले गएराति पहिरोले बगाएर बेपत्ता भएकाहरूका शव प्यूठानमा भेटिएको हुन सक्ने सम्भावना धेरै छ । यसबारे थप अनुसन्धान भइरहेको छ,’ उनले भने । रोल्पाको थबाङ गाउँपालिका–५, बोटलबारा क्षेत्रमा पहिरोले घर तथा गोठ पुरिँदा तीन जनाको मृत्यु भएको र दुई जना गम्भीर घाइते भएको पुष्टि भएको छ । घटनामा नौ जना बेपत्ता रहेको प्रहरीले जनाएको छ ।
प्यूठानमा फेला परेका पाँच शव बेपत्ता नौ जनामध्येका हुन् वा होइनन् भन्नेबारे पहिचान तथा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।