Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

‘ऊ बाघदरबार’बाट जन्मिएको ‘सिंहदरबार’ नामको रोचक कथा

‘ऊ बाघदरबार’बाट जन्मिएको ‘सिंहदरबार’ नामको रोचक कथा

  • सन्देश सम्वाददाता
  • मंगलबार, साउन २६ २०८३


‘ऊ बाघदरबार’बाट जन्मिएको ‘सिंहदरबार’ नामको रोचक कथा

इलाम : नेपालको राजनीतिक इतिहासमा ‘सिंहदरबार’ केवल एउटा भवनको नाम होइन। यो नेपालको शासन व्यवस्था, सत्ता र प्रशासनको पर्याय बनेको नाम हो। आज प्रधानमन्त्री तथा सरकारका प्रमुख प्रशासनिक निकायसँग जोडिने सिंहदरबारको नाम कसरी रह्यो भन्ने कथा भने निकै रोचक छ। सिंहदरबारको नामसँग जोडिएको एउटा प्रसंग तत्कालीन प्रधानमन्त्री तथा श्री ३ महाराज चन्द्रशमशेरकी कान्छी बडामहारानी बालकुमारी देवीसँग सम्बन्धित छ।

सिंहदरबार निर्माण सम्पन्न भएपछि एक दिन चन्द्रशमशेर आफ्नी कान्छी बडामहारानी बालकुमारी देवीलाई साथमा लिएर दरबारको कौसीमा पुगेका थिए। त्यहाँबाट वरपरका दरबारहरू प्रस्ट देखिन्थे। चन्द्रशमशेरले एउटा दरबारतर्फ संकेत गर्दै बालकुमारी देवीलाई भने– ‘ऊ बाघदरबार।’ बाघदरबारतर्फ हेरेपछि बालकुमारी देवीले तत्कालै जवाफ दिइन्– ‘महाराज, त्यो बाघदरबार हो भने यो दरबारको नाम सिंहदरबार राखे कसो होला ?’ बालकुमारी देवीको प्रस्ताव चन्द्रशमशेरलाई मन पर्यो।

त्यसपछि नवनिर्मित भव्य दरबारको नाम ‘सिंहदरबार’ राखियो।   एउटा सामान्यजस्तो देखिने संवादले नेपालको राजनीतिक इतिहासमा गहिरो अर्थ बोकेको ‘सिंहदरबार’ नाम जन्माएको इतिहासकार पुरुषोत्तमशमशेर राणाद्वारा लिखित राणाकालीन प्रमुख ऐतिहासिक दरबारहरू मा उल्लेख छ।
आफ्नै दरबार बनाउने चन्द्रशमशेरको चाहना
विस १९५८ असार १० गते चन्द्रशमशेर सत्तामा आए। सत्तामा आएपछि उनलाई आफ्नो निवासका लागि छुट्टै भव्य दरबारको आवश्यकता महसुस भयो। त्यतिबेला वीरशमशेरले निर्माण गराएका लालदरबार र सेतोदरबार खरिद गर्ने उनको इच्छा थियो। तर आफैं गएर दरबार किन्न प्रस्ताव राख्न उनले अप्ठ्यारो माने। त्यसैले आफ्ना विश्वासी माहिला पण्डित काशीनाथ आचार्य दीक्षित र डिल्ली शमशेर थापालाई त्यसको जिम्मेवारी दिए।

उनीहरूले पहिले तेज शमशेरसमक्ष चन्द्रशमशेरको प्रस्ताव राखे। तेज शमशेरले लालदरबारका सम्बन्धमा जवाफ दिँदै– महाराजलाई आफ्नो घर आवश्यक परेको भए टक्र्याउने, तर आफूले आफ्नी आमा तोपकुमारी देवीलाई कहाँ राख्ने भन्ने प्रश्न गरे। गेहेन्द्र शमशेरले पनि सेतोदरबार बेच्ने विषयमा सहज जवाफ दिएनन्। उनले आफूले मागेको मूल्य महाराजबाट दिन सकिने हो कि होइन, पहिले त्यसको जवाफ लिएर मात्र आउन दूतहरूलाई भने।

दुवैको प्रश्न बोकेर फर्किएका दूतहरूले चन्द्रशमशेरलाई सबै कुरा सुनाए। तर चन्द्रशमशेरले तत्काल उनीहरूको प्रश्नको जवाफ दिन सकेनन्। फलतः लालदरबार र सेतोदरबार खरिद गर्ने योजना अघि बढ्न सकेन।
दुई दरबार किन्न लाग्दा जन्मियो सिंहदरबारको योजना
त्यसपछि चन्द्रशमशेरले जीत शमशेरको लाजिम्पाट दरबार र रुद्र शमशेरको चाबुर्जा दरबार ६–६ लाख रुपैयाँमा खरिद गर्ने सहमति गरे। तर यही क्रममा तत्कालीन इन्जिनियर कुमार नरसिंह राणा र किशोर नरसिंह राणाले चन्द्रशमशेरसमक्ष नयाँ प्रस्ताव राखे। उनीहरूले भनेका थिए– अरूको दरबार किनेर उनीहरूको चित्त किन दुखाउने रु बरु महाराजका लागि आफूहरूले एक वर्षमै नयाँ दरबार निर्माण गरेर तयार पार्न सक्छन्। यो प्रस्ताव चन्द्रशमशेरलाई मन पर्यो। त्यसपछि उनले अरूका दरबार खरिद गर्ने योजना छाडेर आफ्नै नयाँ दरबार निर्माण गर्ने निर्णय गरे।
३५० रोपनी जमिनमा सुरु भएको निर्माण
सिंहदरबार निर्माणका लागि चन्द्रशमशेरले प्रतिरोपनी ९० रुपैयाँका दरले करिब ३५० रोपनी जमिन खरिद गरे। सुरुमा उनको उद्देश्य आफू बस्न मिल्ने सामान्य आकारको दरबार बनाउने थियो। तर निर्माण अघि बढ्दै जाँदा दरबारको आकार र भव्यता पनि बढ्दै गयो। निर्माणमा तत्कालीन राज्य संयन्त्र र श्रमशक्तिको व्यापक प्रयोग गरिएको थियो। काठ काठमाडौंनजिकको ‘छरिया’ जंगलबाट ल्याइएको बताइन्छ। ढुवानीमा बेगारी श्रम प्रयोग हुन्थ्यो। कामदारलाई पेटभरि ढिँडो र नुन खर्च दिने व्यवस्था थियो।

सिकर्मी, डकर्मी लगायतका काममा सेना, प्रहरी, पिपा र कैदीसमेत परिचालन गरिएको उल्लेख पाइन्छ। ज्यालामा काम गर्नेहरूलाई पनि दैनिक चारदेखि छ पैसाभन्दा बढी नदिइने गरेको बताइन्छ। फलाम, किला, काँटा, रेलिङ, पाइप लगायतका सामग्री भारतबाट ल्याइन्थ्यो। ती सामग्रीमा लाग्ने भन्सारसमेत चन्द्रशमशेरले तिर्नु नपर्ने व्यवस्था थियो। यही कारण सिंहदरबारजस्तो विशाल संरचना निर्माण गर्दा पनि चन्द्रशमशेरको वास्तविक नगद खर्च करिब ५० लाख रुपैयाँभन्दा बढी नभएको तत्कालीन बुढापाकाको भनाइ उद्धृत गर्दै पुरुषोत्तमशमशेरले लेखेका छन्।
‘ऊ बाघदरबार’ बाट ‘सिंहदरबार’ सम्म
दरबार निर्माण सम्पन्न भयो। भव्य संरचना तयार भयो। तर त्यसको नाम भने अझै तय भएको थिएन। एक दिन चन्द्रशमशेर आफ्नी कान्छी बडामहारानी बालकुमारी देवीलाई लिएर दरबारको कौसीमा पुगे। कौसीबाट वरपरका दरबारहरू नियालिरहेका बेला चन्द्रशमशेरको नजर बाघदरबारतर्फ गयो। उनले हातले देखाउँदै भने– ‘ऊ बाघदरबार।’ बालकुमारी देवीले त्यसै क्षण एउटा अर्थपूर्ण नाम प्रस्ताव गरिन्–

‘महाराज, त्यो बाघदरबार हो भने यो दरबारको नाम सिंहदरबार राखे कसो होलारु’ सिंह र बाघबीचको प्रतीकात्मक सम्बन्ध जोडिएको त्यो प्रस्ताव चन्द्रशमशेरलाई उपयुक्त लाग्यो। त्यसपछि नवनिर्मित दरबारले आफ्नो स्थायी पहिचान पायो– सिंहदरबार। आज नेपालको सत्ता र प्रशासनको केन्द्रका रूपमा चिनिने सिंहदरबारको नामकरणको कथा यही एउटा संवादसँग जोडिएको छ।
दरबारबाट सरकारको सम्पत्ति
सिंहदरबार निर्माण सम्पन्न भएपछि चन्द्रशमशेरले भारदारी सभा बोलाए। उनले घोषणा गरे– अबदेखि श्री ३ महाराज तथा प्रधानमन्त्री जो हुन्छन्, उनी यही दरबारमा बस्नेछन्। त्यसै अवसरमा उनले सिंहदरबार नेपाल सरकारलाई बिक्री गरेको घोषणा गरे। इतिहाससम्बन्धी उक्त विवरणअनुसार चन्द्रशमशेरले सिंहदरबार नेपाल सरकारलाई २ करोड रुपैयाँमा बिक्री गरे। यसबाट उनले निर्माण लागतको तुलनामा ठूलो रकम नाफा कमाएको उल्लेख पाइन्छ। यसरी आफू बस्नका लागि निर्माण गरिएको निजी दरबार केही समयमै राज्यको सम्पत्तिका रूपमा स्थापित भयो।
२९ वर्षे शासनमध्ये २८ वर्ष सिंहदरबारमै
चन्द्रशमशेरको २९ वर्षे शासनकालमध्ये करिब २८ वर्ष सिंहदरबारमै बितेको बताइन्छ। वि.सं. १९८६ मंसिर ३० गते उनको मृत्यु पनि सिंहदरबारमै भयो। त्यसपछि भीमशमशेर प्रधानमन्त्री बने र टंगालदरबारबाट सिंहदरबार सरे। वि.सं. १९८९ भाद्र ११ गते भीमशमशेरको पनि सिंहदरबारमै मृत्यु भयो। त्यसपछि जुद्धशमशेर प्रधानमन्त्री बने। उनी पाटनको जाउलाखेल दरबारबाट सिंहदरबार सरे।

जुद्धशमशेरकै पालामा सिंहदरबार नेपालको राजनीतिक दमन र शासन व्यवस्थाको महत्वपूर्ण केन्द्रसमेत बन्यो। दशरथचन्द, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री र गंगालालको मुद्दाको सुनुवाइका लागि विशेष अदालत गठन गरी मृत्युदण्डको फैसला गर्ने प्रक्रिया पनि यही शासन व्यवस्थासँग जोडिएको थियो।
पद्मशमशेरदेखि मोहनशमशेरसम्म
विसं. २००२ मंसिर १४ गते जुद्धशमशेरले पद त्यागेपछि पद्मशमशेर प्रधानमन्त्री बने। नियमअनुसार उनी सिंहदरबार सर्नुपर्ने भए पनि उनी आफ्नै विशालनगर दरबारमा बसे। पछि वि।सं। २००४ फागुन १८ गते उपचारका लागि भारत गएपछि सिंहदरबारको सत्ता समीकरण फेरियो। पद्मशमशेर भारतमा रहेका बेला उनका उत्तराधिकारीका रूपमा अघि बढिरहेका मोहनशमशेर सिंहदरबार सरे।

उनी प्रधानमन्त्री तथा श्री ३ महाराज बन्नुअघि नै सिंहदरबार प्रवेश गरेको घटनाले तत्कालीन सत्ता संघर्षलाई समेत उजागर गर्छ। वि.सं २००५ वैशाख १६ गते पद्मशमशेरले भारतको राँचीबाट राजीनामा पठाएपछि मोहनशमशेर प्रधानमन्त्री बने। तर २००७ सालको राजनीतिक परिवर्तनपछि सिंहदरबारको इतिहासले अर्को मोड लियो।
राणा शासनको अन्त्यपछि सरकारी सचिवालय
वि।सं। २००९ फागुन ७ गतेपछि सिंहदरबार तत्कालीन ‘श्री ५ को सरकार’को स्वामित्वमा आयो। मोहनशमशेरलाई सिंहदरबार छाड्न आदेश दिइयो। त्यसपछि उनी महाराजगञ्जस्थित आफ्नै निवास लक्ष्मी निवास फर्किए। सिंहदरबार भने सरकारी सचिवालयमा परिणत भयो। यससँगै एउटा राणा शासकको निजी दरबारका रूपमा निर्माण भएको भवन क्रमशः नेपालको राज्य सञ्चालनको प्रमुख प्रशासनिक केन्द्र बन्न पुग्यो।
आगोले ध्वस्त पारेको सिंहदरबार
सिंहदरबारको इतिहासमा सबैभन्दा ठूलो दुर्घटना वि.सं २०३० असार २५ गते भयो। त्यो दिन सिंहदरबारमा भीषण आगलागी भयो। आगो नियन्त्रणमा लिने र दरबार बचाउने प्रयास भए पनि भवनको ठूलो भाग जोगाउन सकिएन। अन्ततः अगाडिको भाग जोगाउन पछाडिको भाग भत्काउनुपरेको थियो। ठूलो हिस्सा आगोमा जलेर नष्ट भयो। पछि बाँकी रहेको अगाडिको भागसँग जोडेर पुनः निर्माण गरियो। आज त्यही परिसरमा नेपालको सरकारको सचिवालय र विभिन्न मन्त्रालयहरू सञ्चालनमा छन्।
एउटा नाम, जसले इतिहास बोकेको छ
सिंहदरबारको नामकरणको कथा हेर्दा यो केवल एउटा दरबारको नाम राखिएको घटना मात्र देखिँदैन। यसले राणाकालीन सत्ता, दरबार संस्कृति, तत्कालीन राजनीतिक शक्ति र त्यसपछिको राज्य रूपान्तरणको लामो इतिहास बोकेको छ। बाघदरबार देखाउँदै चन्द्रशमशेरले भनेको ‘ऊ बाघदरबार’ र त्यसको जवाफमा बालकुमारी देवीले दिएको ‘त्यसो भए यो दरबारको नाम सिंहदरबार राखे कसो होला ?’ भन्ने छोटो संवादले जन्माएको नाम आज पनि नेपालको शासन व्यवस्थाको सबैभन्दा परिचित प्रतीक बनेर उभिएको छ। एक समय राणा शासकको निजी निवासका रूपमा निर्माण भएको यही भवन आज नेपालको प्रशासनिक शक्ति केन्द्र हो।

प्रतिक्रिया
सम्बन्धित समाचार