इलाम (सन्दकपुर) । फाल्गुनन्द पदमार्ग अन्तर्गत इलामको सन्दकपुर गाउँपालिकामा रहेको माईपोखरी–छिन्टापु खण्डमा पदमार्ग निर्माण कार्य धमाधम हुँदैछ । आर्थिक वर्ष २०८१÷८२ बाट निर्माण शुरु भएको फाल्गुनन्द पदमार्गको माईपोखरी–छिन्टापु खण्डमा धमाधम निर्माणको काम शुरु भएको हो । यो परियोजनाले प्राकृतिक, धार्मिक तथा सांस्कृतिक सम्पदालाई जोड्दै पूर्वी नेपालको पदयात्रा पर्यटनलाई प्रवद्र्धन गर्ने लक्ष्य राखेको छ ।
रामसार सूचीमा सूचीकृत सिमसार क्षेत्र माईपोखरीबाट देखि छिन्टापुसम्म इलाम तर्फबाट निर्माण हुँदै आएको छ भने पाँचथर तर्फ सदरमुकाम फिदिम बजारबाट निर्माण शुरु भएको छ । पाँचथर र इलाम खण्डको संगमस्थल पर्यटकीय क्षेत्र छिन्टापु हुनेछ । फाल्गुनन्द पदमार्गले इलामको सन्दकपुर, पाँचथर फाल्गुनन्द, फालेलुङ गाउँपालिका र फिदिम नगरपालिका जोड्नेछ । पदमार्गमा आधारित पर्यटन विकास आयोजना अन्तर्गत निर्माण हुँदै आएको पदमार्गमास्वीस विकास सहयोगको ५१ प्रतिशत नेपाल सरकारको ५ प्रतिशत कोशी प्रदेश सरकारको २२ प्रतिशत र स्थानीय तहको २२ प्रतिशत लगानी हुन्छ ।
आयोजनाबाट पदमार्ग स्तरोन्नति र सुरक्षित हिँडडुलका लागि संरचना निर्माण हुँदै आएका छन् । विश्रामस्थल, बस्ने कुर्सी, फोहोर व्यवस्थापनका पूर्वाधार तथा आवश्यक स्थानमा संरक्षण पर्खाल निर्माण हुँदै आएको सन्दकपुर गाउँपालिका इलामका अध्यक्ष तुलाराम गुरुङले बताए । चार वर्षमा क्रमिक रूपमा सम्पूर्ण खण्डको पूर्वाधार विकास गर्ने योजनाका साथ शुरु भएको पदमार्ग निर्माण इलाम खण्डमा १६ किलोमिटर निर्माण गर्ने योजना छ । जसमा निर्माणको दुई आर्थिक वर्ष सम्पन्न भइसकेको छ । इलाम खण्डमा दुई आर्थिक वर्षमा ७ किलोमिटर १ सय मिटर निर्माण सम्पन्न भइसकेकोइञ्जिनियर भवानी चौधरीले बताए ।
अब ८ किलोमिटर ७ सय मिटर निर्माणको काम गर्न चालु आर्थिक वर्षमा उपभोक्ता समिति समेत गठन भएको छ । महत्वकाक्षि योजना द्रुत गतिमा अघि बढाउन आर्थिक वर्षको शुरुमा नै उपभोक्ता समिति गठन गरि परिचालन गरिएको सन्दकपुर गाउँपालिका उपाध्यक्ष हरी लुङ्गेलीले बताए । उनी भन्छन्–‘पर्यटकीय पालिका भएकाले हामीले महत्वका साथ निर्माणलाई दु्रत गतिमा अघि बढाएका छौँ । निर्माणको दुई आर्थिक वर्षमा ७ किलोमिटर १ सय मिटर पदमार्ग, २ वटा शौचालय, १ वटा सेड हाउस, १ वटा धारा ७ वटा डसबिन र ६ वटा चौतारा निर्माण भएका छन् ।
चालु आर्थिक वर्षमा करिब ९ किलोमिटर पदमार्ग ४ वटा पोखरी, १५ वटा चौतारा र ७ वटा सेड हाउस निर्माण गर्ने योजना छ । पदमार्ग निर्माणका लागि सन्दकपुर गाउँपालिकामा २ वटा उपभोक्ता समिति गठन भएका छन् । समितिले चाँडै निर्माणको काम शुरु गर्ने सन्दकपुर गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत दिलकुमार लिम्बुले बताए । पदमार्ग क्षेत्रमा सेडहाउस, पोखरी, चौतारा, शौचालय निर्माणका लागि छुट्टै उपभोक्ता समिति गठन भएको प्रमुख प्रशासकिय अधिकृत लिम्बुले बताए । पदमार्ग निर्माणका लागि सन्दकपुर गाउँपालिका भित्र १ करोड ९१ लाख बजेट विनियोजन भएको छ । साथै पदमार्गमा आवश्यक अन्य पूर्वाधार निर्माणका लागि ६५ लाख बजेट विनियोजन भएको इन्जिनियर भवानी चौधरीले बताए । फाल्गुनन्द पदमार्गले इलाम र पाँचथरका ५ वटा स्थानीय तह जोड्छ । जसमा पाँचथर फिदिम नगरपालिका, फाल्गुनन्द र फालेलुङ गाउँपालिका पर्दछन् । पदमार्ग निर्माण भएपछि पाँचथर तर्फबाट सदरमुकाम फिदिम बजारबाट फालेलुङ गाउँपालिका–४ को चाररातेसम्म पर्यटकले पदयात्रा गर्न सक्नेछन् । फिदिम बजारबाट पर्यटकीय क्षेत्र चारराते ४३ किलोमिटरको दुरीमा रहेको छ । इलामको इलाम नगरपालिकामा साढे दुई किलोमिटर र सन्दकपुर गाउँपालिकामा करिब १६ किलोमिटर निर्माण हुनेछ । सर्भे साढे ६० किलोमिटर निर्माण गर्ने भनिएपनि केहि किलोमिटर बढ्न सक्नेछ ।
इलामको खण्डमा माईपोखरी, देउराली, छिन्टापु हुँदै सन्दकपुरबाट चारराता पुग्ने रुट रेहको छ । पदमार्ग निर्माण पछि पर्यटकीय क्षेत्रमा पर्यटकको आकर्षण बढ्ने र स्थानीय समुदायलाई होमस्टे, होटल, गाइड सेवा तथा स्थानीय उत्पादनको बिक्रीबाट आयआर्जनका अवसर सिर्जना हुनेछ ।
फाल्गुनन्द पदमार्ग
फाल्गुनन्द पदमार्ग पूर्वी नेपालको धार्मिक, सांस्कृतिक, प्राकृतिक तथा पदयात्रा पर्यटनलाई प्रवद्र्धन गर्ने उद्देश्यले विकास गरिएको महत्त्वपूर्ण पदमार्ग हो । कोशी प्रदेशमा निर्माण हुँदै आएको ५ वटा पदमार्गमध्ये यो पदमार्ग राष्ट्रिय विभूति तथा किराँत धर्मगुरु महागुरु फाल्गुनन्द लिङ्देनसँग सम्बन्धित ऐतिहासिक तथा धार्मिक स्थलहरूलाई जोड्दै पूर्वी पहाडका रमणीय प्राकृतिक सम्पदासम्म पुग्ने मार्गका रूपमा विकास भइरहेको छ ।
यस पदमार्गले मुख्य रूपमा इलाम, पाँचथर तथा आसपासका क्षेत्रका धार्मिक, सांस्कृतिक र प्राकृतिक सम्पदालाई एकीकृत गर्दै पदयात्री तथा पर्यटकलाई स्थानीय संस्कृति, जैविक विविधता र ग्रामीण जीवनशैलीको अनुभव गराउने लक्ष्य राखेको छ । इलामको माईपोखरी–छिन्टापु खण्ड यस पदमार्गको आकर्षक भाग मानिन्छ, जहाँ घना वन, दुर्लभ वनस्पति, चराचुरुङ्गी तथा हिमाली दृश्यावलोकनको अवसर प्राप्त हुन्छ । यस खण्डमा पदमार्ग निर्माण तथा स्तरोन्नतिको काम पनि अघि बढिरहेको छ । पाँचथरको खण्डमा फिदिम नगरपालिकाको फिदिम बजारबाट शुरु हुन्छ । फिदिम बजारबाट लब्रेकुटि फाल्गुनन्दको तपोभुमि तथा समाधिस्थल सिलौटी, पौवाभञ्ज्याङ, सुकेपोखरी, इलामको कुइभिर, पाटेनागी, बिखेभञ्ज्याङ्गहुदै छिन्टापु पुगेर जोडिन्छ ।
पदमार्गका प्रमुख विशेषता
महागुरु फाल्गुनन्दको जीवन, दर्शन र किराँत संस्कृतिसँग सम्बन्धित स्थलहरूको अवलोकन गर्न सकिने छ । माईपोखरी, छिन्टापु, सन्दकपुर, चारराते र अन्य प्राकृतिक सम्पदाको पदयात्रा अनुभव गर्न सकिनेछ । स्थानीय होमस्टे, परम्परागत संस्कृति, कृषि र स्थानीय परिकारसँग परिचित हुने अवसर प्राप्त हुनेछ । जैविक विविधता, दुर्लभ रेडपाण्डा लगायतका वन्यजन्तु तथा हिमाली दृश्यावलोकनका लागि उपयुक्त पदमार्गमा फाल्गुनन्द रहेको छ । धार्मिक, सांस्कृतिक र प्रकृतिमा आधारित दिगो पर्यटन प्रवद्र्धन गर्ने सम्भावना आयोजनाको रहेको छ ।