Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

इलामका एक दम्पत्ति संकटमा : श्रीमानका दुवै मिर्गौला फेल, श्रीमती क्यान्सरसँग संघर्ष

इलामका एक दम्पत्ति संकटमा : श्रीमानका दुवै मिर्गौला फेल, श्रीमती क्यान्सरसँग संघर्ष

  • सन्देश सम्वाददाता
  • शुक्रबार, साउन २२ २०८३


इलामका एक दम्पत्ति संकटमा : श्रीमानका दुवै मिर्गौला फेल, श्रीमती क्यान्सरसँग संघर्ष

‘हामी आफ्ना साना छोराछोरीका लागि भए पनि बाँच्न चाहन्छौँ, बचाइ दिनुहोस् न।’ यो मार्मिक पिडादायी भनाइ इलामको फाकफोकथुम गाउँपालिका-२ निवासी ३४ वर्षीय बिष्णु कुमार लामा र उनकी ३७ वर्षीया श्रीमती सन्जिला तामाङको हो । यो एक वाक्यले उनीहरूको जीवनमा आइपरेको असह्य पीडाको चित्र स्पष्ट देखाउँछ। एउटा परिवार, जहाँ श्रीमान दुवै मिर्गौला फेल भएर डायलाइसिसको भरमा बाँचिरहेका छन् भने श्रीमती आन्द्राको क्यान्सरसँग जुधिरहेकी छन्।

उनीहरूको संघर्ष रोगसँग मात्र होइन, उपचार खर्च जुटाउन नसक्ने आर्थिक अभावसँग पनि हो। बिष्णु कुमार लामा विगत चार वर्षदेखि झापाको भद्रपुरस्थित ओमसाई अस्पतालमा नियमित डायलाइसिस गराउँदै आएका छन्। चिकित्सकका अनुसार उनका दुवै मिर्गौलाले पूर्ण रूपमा काम गर्न छाडिसकेका छन्। अब नियमित डायलाइसिसबाहेक अर्को विकल्प छैन।

यता श्रीमती सन्जिला तामाङलाई आठ महिनाअघि आन्द्राको क्यान्सर भएको पुष्टि भएपछि भक्तपुर क्यान्सर अस्पतालमा उपचार सुरु गरिएको थियो। उनले हालसम्म छ पटक किमोथेरापी गराइसकेकी छन्। उपचारपछि क्यान्सरको अवस्था तेस्रो चरणबाट दोस्रो चरणमा झरेर केही सुधार देखिए पनि थप दुई पटक किमोथेरापी गर्नुपर्ने चिकित्सकको सल्लाह छ। तर आर्थिक अभावका कारण उनको उपचार बीचमै रोकिएको छ।

पीडितका अनुसार श्रीमान-श्रीमती दुवैको उपचारमा अहिलेसम्म करिब ३५ लाख रुपैयाँ खर्च भइसकेको छ। आफ्नो सानो जग्गासमेत धितो राखे, ऋण खोजे, आफन्त र चिनेजानेकासँग सहयोग मागे। अब पैसा माग्ने ठाउँ सबै बन्द भयो । ऋणको बोझसँगै उनीहरुको उपचार चलिरहेको छ। विभिन्न मनकारी व्यक्ति तथा संस्थाबाट केही सहयोग प्राप्त भए पनि उपचार खर्च धान्न पर्याप्त हुन सकेन। मिडियामार्फत करिब १ लाख ५० हजार रुपैयाँ सहयोग प्राप्त भएको थियो।

त्यसैगरी फाकफोकथुम-१, खाम्बाङ निवासी तथा हाल दक्षिण कोरियामा कार्यरत समाजसेवी दावा तामाङको पहलमा करिब १ लाख ६० हजार रुपैयाँ सहयोग जुटेको उनीहरुले बताए । आफन्त र शुभेच्छुकबाट पनि केही सहयोग प्राप्त भए पनि उपचारका लागि आवश्यक रकम अझै अपुग छ। उपचार खर्च जुटाउने आशामा उनीहरूले आफ्नो पहाडस्थित सानो जग्गासमेत धितो राखेर एउटा सिटी सफारी खरिद गरेका थिए। त्यसलाई चलाएर परिवारको गुजारा र उपचार खर्च धान्ने सपना थियो। तर दुवै जनाको स्वास्थ्य अवस्था झन् जटिल बन्दै गएपछि त्यो सपना अधुरै रह्यो।

अहिले उक्त सिटी सफारी आम्दानीको स्रोत बन्नुको सट्टा बिष्णु कुमार लामाले डायलाइसिसका लागि अस्पताल आउजाउ गर्न सक्ने साधनका रूपमा मात्र प्रयोग भइरहेको छ। श्रीमती सन्जिला तामाङलाई काठमाडौँमा उपचारका लागि जानुपर्दा भने सार्वजनिक वा भाडाका सवारीसाधनको भर पर्नुपर्ने बाध्यता छ। आर्थिक अभावले उपचारसँगै यात्राको खर्चसमेत जुटाउन कठिन हुँदा उनीहरूको दैनिक जीवन झन् कष्टकर बन्दै गएको छ।

हाल उनीहरू झापाको सैनिक मोड नजिक एउटा सामान्य झुप्रोमा बस्दै आएका छन्। स्थानीय एक साहूको खेत अधियाँमा लिएर सामान्य खेतीपाती गर्दै गुजारा चलाउने प्रयास गरे पनि दुवै बिरामी भएपछि परिवारमा कमाउने कोही छैन। दुई छोरा र एक छोरीको पढाइ, खानपिन र भविष्यको चिन्ताले उनीहरूलाई रातदिन सताइरहेको छ।

बिष्णु कुमारले फाकफोकथुम गाउँपालिका-२ वडा कार्यालयबाट मासिक ५ हजार रुपैयाँ आर्थिक सहयोग पाउँदै आएका छन्। तर सन्जिला तामाङले हालसम्म कुनै सरकारी आर्थिक सहायता प्राप्त गर्न नसकेको उनीहरुले बताए । ‘हामी रोगसँग हार खाँदैनौ र उच्चमनोबलका साथ बाँच्न कोशिस गर्दै छोराछोरीको लागि सदैब समर्पित हुन चाहान्छौ । तर उपचार गर्ने पैसा नहुँदा बाँच्ने आशा नै हराउँदै गएको छ।

उनीहरूको यो पीडाभरिएको भनाइले जो-कोहीको मन छुन्छ। यही कारण उनीहरूले देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ-दिदीबहिनी, इष्टमित्र, छरछिमेकी, संघसंस्था, समाजसेवी, सरकार समक्ष तथा मनकारी महानुभावसँग हार्दिक अपिल गरेका छन्। उनीहरूको उपचारलाई निरन्तरता दिन तथा तीन निर्दोष बालबालिकाको भविष्य जोगाउन इच्छुक सहयोगी मनहरूले मोबाइल नम्बर ९७०००५५४८७ मा सम्पर्क गरी उपलब्ध क्यूआर कोड वा बैंक खातामार्फत आर्थिक सहयोग गरिदिन अनुरोध गरेका छन् । (युद्ध बहादुर बोहोरा /नयाँ बुलन्द)

प्रतिक्रिया
सम्बन्धित समाचार