इलाम । भारतको दार्जिलिङमा जारी प्रतिष्ठित १०९औँ हर्लि मेमोरियल कप फुटबल प्रतियोगिता अन्तर्गत सोमबार भएको उद्घाटन खेलमा रेडहर्स फुटबल क्लब, इलामले एनपी कलेज माथि ७–२ गोलको फराकिलो जित दर्ता गरेको छ।
खेलको सुरुवातमा एनपी कलेजले अग्रता लिए पनि रेडहर्सले उत्कृष्ट पुनरागमन गर्दै लगातार गोल वर्षा गरेको थियो। आक्रामक खेल प्रदर्शन गरेको रेडहर्सले विपक्षीको रक्षापंक्तिलाई दबाबमा राख्दै सात गोल गर्न सफल भयो भने एनपी कलेजले थप एक गोल मात्र फर्काउन सक्यो।
दोश्रो खेलमा युकेएफसीले नादोङ फुटबल एकाडेमीलाई टाइब्रेकरमा हराएको छ । निर्धारित समयमा दुवै टिमले १–१ गोल बराबरी खेलेका थिए । टाइब्रेकरमा युकेएफसीले ५–४ अन्तरको जित निकालेको छ ।
दार्जिलिङको ऐतिहासिक तथा प्रतिष्ठित प्रतियोगिताका रूपमा परिचित १०९औँ हर्लि मेमोरियल कप अगस्ट १५ सम्म सञ्चालन हुनेछ। यस संस्करणमा नेपाल र भारतका गरी १८ टोली सहभागी छन्। प्रतियोगिताको विजेताले २ लाख भारतीय रुपैयाँ तथा उपविजेताले १ लाख भारतीय रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन्।
प्रतियोगिताको आयोजना दार्जिलिङ गोर्खा हिल स्पोर्टर्स एसोसिएसन ले गरेको हो।