फिक्कल । विश्व मानव बेचबिखनविरुद्ध दिवसको अवसरमा इलामको सूर्योदय नगरपालिका–२ स्थित पशुपतिनगरमा नेपाल र भारतका सरोकारवाला निकायको संयुक्त सहभागितामा मानव बेचबिखन तथा ओसारपसारविरुद्ध सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।
नेपालको माइती नेपाल र इन्डो–नेपाल कोर कमिटीको आयोजनामा सम्पन्न कार्यक्रममा नेपाल–भारत सीमा क्षेत्रमा मानव बेचबिखनको वर्तमान अवस्था, चुनौती र नियन्त्रणका उपायबारे छलफल गरिएको थियो। कार्यक्रममा दुवै देशका सुरक्षा निकाय, स्थानीय सरकार, सामाजिक संघसंस्था तथा स्थानीय समुदायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
भारतको दार्जिलिङस्थित मानव बेचबिखनविरुद्ध कार्यरत अनुग्येला संस्थाका अध्यक्ष राजेन्द्र बञ्जारेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा माइती नेपाल पशुपतिनगरका प्रमुख होम ढकाल, अनुग्येला संस्थाका परियोजना संयोजक सुदीप बम्जन तथा सूर्योदय नगरपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख तारा शेर्पाले मानव बेचबिखनको अवस्था, जोखिम र नियन्त्रणका विषयमा प्रस्तुतीकरण दिएका थिए।
माइती नेपाल पशुपतिनगरका प्रमुख ढकालले पछिल्लो समय मानव तस्करहरूले डिजिटल तथा अनलाइन माध्यम प्रयोग गरी नयाँ शैलीमा मानव बेचबिखन गरिरहेको बताए। उनका अनुसार खुला सीमा, भौगोलिक जटिलता, संगठित गिरोहको सक्रियता, नेटवर्किङ तथा अनलाइन माध्यम मानव बेचबिखन नियन्त्रणका प्रमुख चुनौती बनेका छन्।
माइती नेपालका अनुसार पशुपतिनगर नाका हुँदै भारतका मुम्बई, दिल्ली, कोलकाता, पुणे र सिलिगुडी लगायतका क्षेत्रमा मानव तस्करी हुने गरेको छ। साथै भारत हुँदै हंगेरी, पोल्याण्ड लगायत युरोपेली मुलुकसम्म नेपाली महिलाको तस्करी हुने गरेको तथ्य पनि कार्यक्रममा सार्वजनिक गरिएको थियो।
ढकालका अनुसार चालु वर्षको जनवरीदेखि जुलाईसम्म पशुपतिनगर नाकाबाट भारत जान लागेका शंकास्पद १३ जनालाई उद्धार गरी परिवारको जिम्मा लगाइएको छ। यस अवधिमा ४ सयभन्दा बढी व्यक्तिलाई परामर्श ९काउन्सेलिङ० प्रदान गरिएको तथा १० हजार ५ सय ९५ सवारी साधनमा सुरक्षा जाँच गरिएको जानकारी दिइयो।
अनुग्येला संस्थाका परियोजना संयोजक सुदीप बम्जनले नेपाल र भारत दुवै देशबीच प्रभावकारी समन्वय भए मात्र मानव बेचबिखन नियन्त्रण सम्भव हुने बताए। उनले संस्थाले सीमा क्षेत्रका समुदायमा निरन्तर सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिए।
कार्यक्रमका प्रमुख अतिथि तथा सूर्योदय नगरपालिकाका कार्यवाहक नगर प्रमुख दुर्गाकुमार बरालले इलाम जिल्लाको करिब ५२।५ किलोमिटर खुला नेपाल–भारत सीमा मानव बेचबिखन नियन्त्रणका लागि चुनौतीपूर्ण रहेको बताए। मुख्य नाका छलेर खुला सीमाको प्रयोग बढ्दै गएकाले निगरानी अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो। उनले आगामी दिनमा विद्यालयस्तरमै मानव बेचबिखनविरुद्ध सचेतना कार्यक्रम सञ्चालन गरिने जानकारी पनि दिए।
नेपालतर्फ उक्त सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलका ७ वटा बोर्डर आउट पोस्ट ९बीओपी० तथा भारततर्फ ८८भारतीय सीमा सुरक्षा बल ९एसएसबी०८८का १३ वटा पोस्ट रहेको जानकारी कार्यक्रममा दिइएको थियो। अनुग्येला संस्थाका अध्यक्ष राजेन्द्र बञ्जारेले मानव बेचबिखन नियन्त्रणका लागि दुवै देशका सरकार, सुरक्षा निकाय र सामाजिक संस्थाबीच निरन्तर सहकार्य आवश्यक रहेको बताए।
उनले पशुपतिनगर क्षेत्रमा नेपाल–भारत दुवै देशका सरोकारवालाको समन्वयमा गठन गरिएको इन्डो–नेपाल कोर कमिटीले सीमा क्षेत्रमा संयुक्त रूपमा सचेतना तथा नियन्त्रणका गतिविधि सञ्चालन गर्दै आएको जानकारी दिए। कार्यक्रममा सूर्योदय नगरपालिका–२ का वडाध्यक्ष तथा सामाजिक विकास समिति संयोजक डिक बम्जनले समुदाय सचेत र सक्रिय भए मात्र मानव तस्करी नियन्त्रण प्रभावकारी बन्ने धारणा राखे।
स्वेजन शेर्पा र सरला तामाङले सञ्चालन गरेको कार्यक्रममा बौद्धधाम माध्यमिक विद्यालयका विद्यार्थीहरूले सांगीतिक तथा सांस्कृतिक प्रस्तुति समेत प्रस्तुत गरेका थिए। कार्यक्रम नेपाल र भारतका सुरक्षाकर्मी, जनप्रतिनिधि, सामाजिक संघसंस्था तथा स्थानीय सरोकारवालाको उल्लेखनीय सहभागितामा सम्पन्न भएको थियो।