Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

इलामको माबुमा पुनः पहिरोको जोखिम, १२ घर तत्काल सार्न सिफारिस

इलामको माबुमा पुनः पहिरोको जोखिम, १२ घर तत्काल सार्न सिफारिस

  • सन्देश सम्वाददाता
  • बिहिबार, साउन १४ २०८३


इलामको माबुमा पुनः पहिरोको जोखिम, १२ घर तत्काल सार्न सिफारिस
  • इलामको सन्दकपुर गाउँपालिका–४ माबुको सायङवा क्षेत्रमा पुनः पहिरोको जोखिम बढेपछि १२ घर परिवारलाई तत्काल सुरक्षित स्थानमा सार्न सिफारिस गरिएको छ।
  • निरन्तर चिरिँदै र भास्सिँदै गएको जमिनका कारण स्थानीयमा त्रास बढेको छ र थप वर्षा भए ठूलो क्षति हुन सक्ने अवस्था रहेको जनाइएको छ।
  • स्थानीय तहले प्रभावित क्षेत्रको निगरानी गर्दै आवश्यक परे थप बस्तीसमेत स्थानान्तरण गर्ने तयारी गरेको छ।

इलाम : गतवर्ष असोज १८ गतेको भीषण वर्षापछि पहिरो जाँदा क्षति बेहोरेको इलामको सन्दकपुर गाउँपालिका–४ माबुको सायङवा क्षेत्र फेरि पहिरोको जोखिममा परेको छ । साउन १० भएको वर्षाले त्यो क्षेत्रमा पुनः पहिरोको जोखिम बढेको गाउँपालिका उपाध्यक्ष हरिबहादुर लुङ्गेली मगरले जानकारी दिए ।

माबुको हरिसेमा करिब २० रोपनी जमिन चिराचिरा परेर भास्सिएकाले त्यस क्षेत्रका १२ घर परिवारलाई तत्काल सुरक्षित स्थानमा जान सिफारिस गरिएको लुङ्गेलीले बताए । लुंगेलीका अनुसार जमिन भास्सिन थालेसँगै राईटारका सोम राई, कल्पना राईलगायत १२ परिवार प्रत्यक्ष जोखिममा परेका हुन् ।

नजिकै रहेको पञ्चकन्या माई हाइड्रोपावर कम्पनीको हेडट्यांक, कार्यालय भवन र कर्मचारी क्वार्टरसमेत पहिरोको जोखिममा परेका छन् । ‘जमिन निरन्तर चिरिँदै र भास्सिँदै गएकाले थप वर्षा भए ठूलो क्षति हुन सक्ने अवस्था छ,’ उपाध्यक्ष लुंगेलीले भने । प्रभावित क्षेत्रमा उपाध्यक्ष लुंगेली, वडा नं ४ का अध्यक्ष ढालबहादुर गुरुङ, गाउँपालिकाको विपद् व्यवस्थापन शाखा र माबु प्रहरी चौकीको टोलीले स्थलगत निरीक्षण गरेको थियो ।

निरीक्षणपछि तत्काल बस्ती स्थानान्तरण गर्न, आवश्यक राहत तथा सहयोगको व्यवस्था गर्न र स्थानीयलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको गाउँपालिकाले जनाएको छ । गतवर्ष असोज १८ गतेको वर्षासँगै सोही क्षेत्रको पहिरोमा परेर एक जनाको मृत्यु भएको थियो भने दर्जनौं परिवार विस्थापित भएका थिए ।

त्यसयता जोखिम कायमै रहेकामा यस वर्षको वर्षाले फेरि जमिन भास्सिन थालेपछि स्थानीयमा त्रास बढेको छ । स्थानीय तहले प्रभावित क्षेत्रको निरन्तर निगरानी गरिरहेको जनाएको छ । मौसममा थप प्रतिकुलता आए जोखिम अझ बढ्न सक्ने भएकाले आवश्यक परे थप बस्तीसमेत सुरक्षित स्थानमा सार्ने तयारी गरिएको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार