Local Sandesh सोमबार, कार्तिक १७ २०८३
  • ट्रेण्डिङ :

इलाममा नेकपाको जिल्ला एकता समायोजन सम्पन्न

इलाममा नेकपाको जिल्ला एकता समायोजन सम्पन्न

  • सन्देश सम्वाददाता
  • बुधबार, साउन १३ २०८३


इलाममा नेकपाको जिल्ला एकता समायोजन सम्पन्न

इलाम । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला समिति इलामले जिल्ला एकता समायोजन, सपथग्रहण तथा राजनीतिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । पार्टीले भदौ १५ गतेभित्र वडा तहसम्म संगठन समायोजन र प्रशिक्षण कार्यक्रम सम्पन्न गर्ने निर्णय गरेको छ ।

जिल्ला समन्वय समितिको सभाहल इलाममा सम्पन्न कार्यक्रममा जिल्ला संयोजक विजय खम्बुको अध्यक्षता, प्रदेश इन्चार्ज राजेन्द्रकुमार राईको प्रमुख आतिथ्यता, सहइन्चार्ज सावित्रीकुमार काफ्ले (समर) र प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ (मिक्सो) को विशेष आतिथ्यता रहेको थियो। कार्यक्रममा केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज खिनु लङ्वा, जिल्ला सहइन्चार्जहरू कान्छा लावती, रुपेश अर्याल, भक्त केसी, मिसन चाम्लिङ, सोममाया राई (सिन्धु) लगायत केन्द्रीय नेताहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा  एकताका विभिन्न घटक जिल्ला समितिहरूलाई समायोजन गरी गठन गरिएको ४९९ सदस्यीय जिल्ला समिति, २५ सदस्यीय कार्यालय टिम, ११४ सदस्यीय सचिवालय, विभागीय जिम्मेवारी, पालिका तहको जिम्मेवारी विभाजन तथा जनवर्गीय संगठन र मोर्चाका फ्याक्सन इन्चार्जहरूको जिम्मेवारी अनुमोदन गरिएको छ ।

गत असार १२ गते विराटनगरमा सम्पन्न प्रदेशस्तरीय एकता समायोजन तथा सपथग्रहण कार्यक्रममा सहभागी हुन नसकेका जिल्ला सदस्यहरूलाई कार्यक्रममा पद तथा गोपनीयताको सपथ गराइएको थियो । कार्यक्रममा पार्टीको विगतको समीक्षा, वर्तमान राजनीतिक अवस्था र आगामी रणनीतिका विषयमा राजनीतिक प्रशिक्षण सञ्चालन गरिएको छ ।

नेकपाले साउन मसान्तभित्र सबै पालिकामा एकता समायोजन र पार्टी सदस्यता नवीकरण सम्पन्न गर्ने निर्णय गरेको छ । विभिन्न कारणले जिल्ला तहको कार्यक्रम छुटाएका सदस्यहरूलाई पालिका तहबाट सपथग्रहण तथा प्रशिक्षण गराइने, त्यसका लागि तोकिएको शुल्क संकलन गरी प्रतिवेदनसहित जिल्ला कार्यालयमा बुझाउने व्यवस्था मिलाउने निर्णय पनि गरिएको छ ।

भदौ १५ गतेभित्र वडा तहमा समायोजन तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गर्ने, त्यसको तालिका निर्माण र कार्यविभाजनको सम्पूर्ण जिम्मेवारी पालिका समितिलाई दिने तथा सदस्यता नवीकरण र संगठन विस्तारको प्रगति नियमित रूपमा जिल्ला समितिमा प्रतिवेदन गर्ने निर्णय गरिएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा प्रदेश इन्चार्ज राजेन्द्रकुमार राईले नेकपा एमालेसँग हाल तत्कालका लागि सत्ता साझेदारी मात्र भएको स्पष्ट पारे ।

नेपाली कांग्रेसभित्र देखिएको राजनीतिक अस्थिरताले देश मध्यावधि निर्वाचनतर्फ जान नपरोस् भन्ने उद्देश्यले सातवटै प्रदेशमा एमालेसँग सत्ता सहकार्य गरिएको उनले बताए । राईले तत्काल बाम एकतामा हतार नगर्ने पार्टीको नीति रहेको उल्लेख गर्दै विगतमा जस्तो शीर्ष नेताहरूबीचको सहमतिमात्र नभई तल्लो तहका कमिटीहरूबीच समन्वय र सहकार्यलाई आधार बनाएर मात्रै बाम एकताको प्रक्रिया अघि बढाइने बताए ।

प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ (मिक्सो) ले विभिन्न कारणले पार्टी छाडेका नेता तथा कार्यकर्ताहरू अन्ततः नेकपामै फर्किने दाबी गरे। अवसरको खोजीमा अन्य दलमा गएका कार्यकर्ताहरूको अन्तिम विकल्प नेकपा नै हुने उनको भनाइ थियो। उनले पार्टी आगामी मंसिरमा हुने केन्द्रीय महाधिवेशनको तयारीमा जुटेको जानकारी दिँदै कम्युनिष्ट शक्तिहरू विभाजित भएर होइन, एकताबद्ध भएर अघि बढे मात्रै मुलुकको हित हुने भएकाले वृहत् बाम एकताको विषयमा पर्याप्त छलफलपछि मात्रै निष्कर्षमा पुगिने बताए ।

पार्टीका सहइन्चार्ज सावित्रीकुमार काफ्ले (समर) ले मुलुकको हितका लागि नेकपाको विकल्प नरहेको भन्दै कार्यकर्तालाई निराश नहुन आग्रह गरे । उनले पार्टी अहिले एकता प्रक्रियामा रहेकाले केन्द्रीय महाधिवेशनपछि सबै तहका जनवर्गीय संगठनहरूको एकता सम्पन्न हुँदै पार्टीले थप गति लिने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया
सम्बन्धित समाचार