मेची राजमार्गको राजदुवाली खण्ड तथा वैकल्पिक सडकहरूमा विपद्जन्य अवस्थाका कारण यातायात पूर्ण रूपमा अवरुद्ध भएपछि इलाम नगरपालिकाले इलाम नगर क्षेत्रलाई ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गर्न नेपाल सरकारसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। नगर प्रमुख केदार थापाको अध्यक्षतामा २०८३ साउन ६ गते बसेको सर्वपक्षीय तथा सर्वदलीय भेलाले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३२ अनुसार जिल्ला प्रशासन कार्यालय इलाममार्फत नेपाल सरकार, गृह मन्त्रालयमा इलाम नगर क्षेत्रलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस गर्ने निर्णय गरेको हो।
भेलामा निवर्तमान सांसद महेश बस्नेत, प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल, सडक डिभिजन कार्यालयका प्रमुख पवन भट्टराई, सुरक्षा निकायका प्रमुख, जनप्रतिनिधि, राजनीतिक दल, उद्योगी–व्यवसायी, गैरसरकारी संस्थाका प्रतिनिधि, नागरिक समाज तथा सञ्चारकर्मीको सहभागिता रहेको थियो। बैठकले मेची राजमार्गको राजदुवाली खण्ड वर्षौंदेखि पहिरो, भू–धसावट र सडक दबिने समस्याबाट प्रभावित हुँदै आएको र यस वर्ष सडक पूर्ण रूपमा अवरुद्ध हुने गरी अवस्था जटिल बनेको निष्कर्ष निकालेको छ।
त्यस्तै, वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएका केचना–कञ्चनजंघा मार्गको पुवाखोला तथा सिमलगोला–तिल्केनी मार्गको जोगमाई खोलामा रहेका बेलिब्रिज गत वर्षको भीषण बाढीले बगाएपछि ती मार्गसमेत सञ्चालनमा आउन नसकेको निर्णयमा उल्लेख गरिएको छ। सडक अवरुद्ध हुँदा इलाम, पाँचथर र ताप्लेजुङका नागरिक दैनिक उपभोग्य खाद्य सामग्री, औषधि तथा खाना पकाउने ग्यासको अभाव झेल्न बाध्य भएको, इलाम अस्पतालबाट झापातर्फ रिफर गरिएका बिरामीलाई लैजान कठिनाइ भएको तथा विद्यालय र क्याम्पसमा अध्ययनरत विद्यार्थीको पठनपाठनसमेत प्रभावित बनेको बैठकले जनाएको छ।
वैकल्पिक मार्गमा निर्माण गरिएका डाइभर्सनहरू पटक–पटक बाढीले बगाउँदा यातायात सञ्चालन अझ जटिल बनेको निष्कर्ष पनि बैठकले निकालेको छ। बैठकले दैनिक उपभोग्य खाद्य सामग्री, औषधि तथा ग्यासको नियमित आपूर्ति सुनिश्चित गर्न सरकारी तथा गैरसरकारी निकायसँग समन्वय गरी आवश्यक वैकल्पिक व्यवस्था मिलाउन उद्योग वाणिज्य संघ इलामलाई अनुरोध गर्ने निर्णय गरेको छ।
यस्तै, स्थानीयवासीबाट पुवाखोला जलविद्युत आयोजनाको सुरुङ मार्ग र हेडट्याङ्कमा चुहावट हुन सक्ने सूचना प्राप्त भएको तथा गोलाखर्क–राजदुवाली क्षेत्रमा विगतदेखि नै पहिरो र भू–धसावटका घटना दोहोरिँदै आएकाले उक्त क्षेत्रको प्राविधिक अध्ययन गर्न बैठकले आग्रह गरेको छ। अध्ययन प्रतिवेदनका आधारमा आवश्यक मर्मत तथा जोखिम न्यूनीकरणका कार्य तत्काल अघि बढाउन नेपाल विद्युत प्राधिकरणलाई अनुरोध गर्ने निर्णय पनि गरिएको छ।
बैठकले मेची राजमार्गको राजदुवाली खण्ड तत्काल सञ्चालनमा ल्याउने, वैकल्पिक मार्गमा बेलिब्रिज जडान गर्ने, हिलो हटाई ग्राभेलिङ गर्ने तथा प्रभावित क्षेत्रका नागरिकलाई राहत पुग्ने गरी संघ, प्रदेश र स्थानीय तहबीच समन्वयात्मक रूपमा काम अघि बढाउन सम्बन्धित निकायसँग आग्रह गरेको छ।