Local Sandesh आइतबार, साउन १० २०८३
  • ट्रेण्डिङ :

‘डी कौडिन्य स्मृति पत्रकारिता पुरस्कार–२०८३’ बाट पत्रकार तिम्सिना पुरस्कृत

‘डी कौडिन्य स्मृति पत्रकारिता पुरस्कार–२०८३’ बाट पत्रकार तिम्सिना पुरस्कृत

  • सन्देश सम्वाददाता
  • बिहिबार, साउन ७ २०८३


‘डी कौडिन्य स्मृति पत्रकारिता पुरस्कार–२०८३’ बाट पत्रकार तिम्सिना पुरस्कृत

जनपक्षीय पत्रकार तथा साहित्यकार देवकुमार आचार्य (डी कौडिन्य) को स्मृतिमा स्थापित ‘डी कौडिन्य स्मृति पत्रकारिता पुरस्कार–२०८३’ बाट पत्रकार चुडामणी तिम्सिना (सिएम शर्मा)  पुरस्कृत भएका छन् । ठोस खबर डटकमका सम्पादक समेत रहेका तिम्सिनालाई बिहीबार डी कौडिन्यको स्मृति दिवसको अवसरमा झापाको बिर्तामोडमा आयोजित एक विशेष कार्यक्रमका बिच उक्त पुरस्कार प्रदान गरिएको हो। शर्मा कनकाई सुरुङ्गा निवासी हुन् ।

प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति झापाद्वारा आयोजित कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका पूर्व अर्थमन्त्री इन्द्र आङ्बो ‘मौसम’ ले पुरस्कृत पत्रकार तिम्सिनालाई दोसल्ला ओढाइ नगद  ४२ हजार, र सम्मानपत्र हस्तान्तरण गरे । सो अवसरमा पुरस्कृत प्रतिभा चुडामणीकी श्रीमती सुनिता तिम्सिना तथा स्वर्गीय डी कौडिन्यकी धर्मपत्नी यमुना आचार्य दुवै जनालाई दोसल्ला ओढाएर विशेष सम्मान गरिएको थियो ।

तत्कालीन शाही नेपाली सेनाले २०५९ साउन ७ गते पक्राउ गरी झापाको चारआली ब्यारेकमा लगेर हत्या गरेका जनपक्षीय पत्रकार आचार्यको योगदानलाई स्मरण गर्दै प्रेस सेन्टर झापाले प्रत्येक वर्ष यो पुरस्कार प्रदान गर्दै आएको छ। उक्त पुरस्कार वितरण तथा सम्मान समारोहमा नेपाल पत्रकार महासङ्घ कोशी प्रदेश उपाध्यक्ष अम्बिका भण्डारी, महासङ्घ झापा अध्यक्ष एकराज गिरी, प्रादेशिक सञ्चार प्रतिष्ठान कोशीका सदस्य अर्जुन राजवंशी, प्रेस सेन्टरका केन्द्रीय सचिव दिपिन राई, समाजवादी प्रेस सङ्गठनका केन्द्रीय उपाध्यक्ष तीर्थ सिग्देल तथा नेपाली कम्युनिस्ट पार्टी झापाका संयोजक खड्गप्रसाद (पवन) तिम्सिना लगायतका वक्ताहरूले मन्तव्य व्यक्त गर्दै सम्मानित व्यक्तित्व र स्वर्गीय कौडिन्यको योगदानको चर्चा गरेका थिए।

कार्यक्रममा विभिन्न सञ्चार सम्बद्ध सङ्गठनका प्रतिनिधि तथा सामाजिक अगुवाहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा उपाध्यक्ष होमप्रकाश अधिकारीले स्वर्गीय डी कौडिन्यको जीवनी तथा योगदानमाथि प्रकाश पारेका थिए । कार्यक्रमको सञ्चालन सचिव प्रकाश उप्रेतीले र स्वागत मन्तव्य सहसचिव राजन साम्पाङले राखेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार