Local Sandesh आइतबार, साउन १० २०८३
  • ट्रेण्डिङ :

इलाममा बोलेरो दुर्घटना, सात जना घाइते

इलाममा बोलेरो दुर्घटना, सात जना घाइते

  • सन्देश सम्वाददाता
  • बिहिबार, साउन ७ २०८३


इलाममा बोलेरो दुर्घटना, सात जना घाइते

इलाम । इलाम नगरपालिकाको वडा नम्बर ८ बज्रदेवीमा आइतबार दिउँसो बोलेरो गाडी दुर्घटना हुँदा सात जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय इलामका अनुसार आज दिउँसो करिब १ बजे झापाबाट इलामतर्फ आउँदै गरेको प्र१-०१-००१ ज ४१३२ नम्बरको बोलेरो उकालो सडकमा अनियन्त्रित भई सडकको दाहिने किनारबाट करिब ६० फिट तल खसेर दुर्घटनामा परेको हो।

दुर्घटनाको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय इलामबाट प्रहरी टोली घटनास्थलमा पुगेर चालकसहित सातै जना घाइतेको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल इलाम पठाएको प्रहरीले जनाएको छ। दुर्घटनामा बोलेरो गाडी पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने गाडी निकाल्ने कार्य जारी रहेको छ।

दुर्घटनामा झापाको कन्काई नगरपालिका–९ घैलाडुब्बाका ४० वर्षीय नाजु आलम टाउकोमा चोट लागेर मध्यम अवस्थामा रहेका छन्। सोही स्थानका ४७ वर्षीय गोपाल प्रसाद दुलालको निधार र दाहिने काँधमा चोट लागेको छ। सुनसरीको धरान उपमहानगरपालिका–१० विशालपथकी ३६ वर्षीया रिता चेम्जोङको टाउको, निधार, दाहिने हात तथा बायाँ खुट्टामा चोट लागेको छ।

बोलेरोका चालक पाँचथरको फाल्गुनन्द गाउँपालिका–५ फाक्तेपका ३३ वर्षीय रमेश चेम्जोङको बायाँ खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ। त्यसैगरी झापाको दमक नगरपालिका–७ श्रीपालीका २२ वर्षीय रोहिन लावतीको निधारमा सामान्य चोट लागेको छ। धरान–१० विशालपथका ७३ वर्षीय महेश कुमार राईको टाउको, छाती र ढाडमा चोट लागेर मध्यम अवस्थामा उपचार भइरहेको छ ।

उनका ३४ वर्षीय छोरा मनकुमार राईको दाहिने पिँडुलातर्फ सामान्य चोट लागेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार सबै घाइतेको जिल्ला अस्पताल इलाममा उपचार भइरहेको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार