सन्दकपुर : इलामको सन्दकपुर गाउँपालिका–४ माबुमा सम्पन्न ऐतिहासिक तथा प्रतिष्ठित राँके स्मृति नकआउट फुटबल प्रतियोगिताको खुलातर्फ मिरिक एफसी र भेट्रान्सतर्फ छाँगेले उपाधि जितेका छन्। खुलातर्फको फाइनलमा मिरिक एफसी र सायाबुङ खेल संघबीच निर्धारित समयसम्म गोलरहित बराबरी भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो।
अत्यन्त प्रतिस्पर्धात्मक बनेको सुटआउटमा मिरिकले ५–४ गोल अन्तरले सायाबुङलाई पराजित गर्दै उपाधि आफ्नो नाममा पार्यो। निर्णायक क्षणमा सायाबुङका असिम राईको प्रहार मिरिकका गोलरक्षक रुपेन राईले उत्कृष्ट बचाउ गरेपछि मिरिक विजयी बनेको हो। उपाधिसँगै मिरिक एफसीले नगद ५१ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो। उपविजेता सायाबुङ खेल संघले २५ हजार ५०० सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
भेट्रान्सतर्फको फाइनलमा छाँगेले सायाबुङलाई २–० गोल अन्तरले पराजित गर्दै उपाधि उचाल्यो। छाँगेका लागि खेलको २४औँ मिनेटमा लक्ष्मण राई र २९औँ मिनेटमा वीरबल राईले गोल गर्दै टोलीलाई जित दिलाए। विजेता छाँगेले २० हजार तथा उपविजेता सायाबुङले रु। १० हजार नगदसहित ट्रफी र मेडल प्राप्त गरे।
प्रतियोगिताअन्तर्गत आयोजित अन्डर–१२ मैत्रीपूर्ण खेलमा प्रबोध माध्यमिक विद्यालयले सन्दकपुर अंग्रेजी बोर्डिङ स्कुललाई ३–० गोल अन्तरले पराजित गर्यो। प्रबोधका लागि प्रमेश राई, शेखर गुरुङ र आदुल लिम्बूले एक–एक गोल गरे। विजेता र उपविजेता दुवै टोलीलाई रु। २ हजार ५०० नगदसहित ट्रफी र मेडल प्रदान गरिएको थियो।
व्यक्तिगत विधातर्फ खुला प्रतियोगितामा सायाबुङका उसल राई उत्कृष्ट खेलाडी घोषित भए। मिरिक एफसीका पुकार लिम्बू उत्कृष्ट डिफेन्डर, संगीन लिम्बू उत्कृष्ट मिडफिल्डर, रुपेन राई उत्कृष्ट गोलरक्षक तथा सन्देश लिम्बू सर्वाधिक गोलकर्ता घोषित भए। मन्दीप मगरले उदीयमान खेलाडीको पुरस्कार प्राप्त गरे।
प्रतियोगिताका विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीहरूलाई सन्दकपुर गाउँपालिकाका अध्यक्ष तुलाराम गुरुङ, वडा नं। ४ का अध्यक्ष ढालबहादुर गुरुङ, आयोजक समितिका अध्यक्ष नन्द कुमार मगर लगायतले नगद, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरेका थिए।
बौद्धधाम टोल विकास संस्थाको आयोजनामा सञ्चालित प्रतियोगिताले स्थानीय खेल प्रतिभाको विकाससँगै खेलकुदमार्फत सामाजिक सद्भाव र पर्यटन प्रवर्द्धनमा समेत महत्वपूर्ण योगदान पुर्याएको आयोजकले जनाएको छ।