इलाम । कोशी प्रदेश प्रहरीको लागूऔषधविरुद्धको महाअभियान अन्तर्गत इलामका एक युवक ब्राउन सुगरसहित पक्राउ परेका छन्। प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले इलामको माङसेबुङ गाउँपालिका–३ का अम्बर साम्बालाई ३२० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो। उनीमाथि लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
कोशी प्रदेश प्रहरी कार्यालयले लागूऔषधमुक्त समाज निर्माण गर्ने उद्देश्यले सञ्चालन गरेको विशेष अभियान अन्तर्गत प्रदेशभर विभिन्न स्थानबाट पाँच जनालाई पक्राउ गरिएको जनाएको छ। पक्राउ परेकाहरूको साथबाट ७१ ग्राम ९१० मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार मोरङ, झापा, सुनसरी र इलामसँग सम्बन्धित विभिन्न स्थानमा गरिएको चेकजाँचका क्रममा पाँच जनालाई नियन्त्रणमा लिइएको हो। अभियानलाई अझ प्रभावकारी बनाउँदै लागूऔषध कारोबारमा संलग्न व्यक्तिविरुद्ध कडा कारबाहीका साथै जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन भइरहेको कोशी प्रदेश प्रहरीले जनाएको छ।