इलाम । इलामका एक युवक झापामा ब्राउन सुगरसहित पक्राउ परेका छन्। भारतबाट नेपालतर्फ लागूऔषध ल्याउँदै गर्दा उनी काँकरभिट्टास्थित पुरानो मेची पुलबाट पक्राउ परेका हुन्। पक्राउ पर्नेमा इलामको फाकफोकथुम गाउँपालिका–३ का ४१ वर्षीय रमेश थेगिम रहेका छन्।
इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय काँकरभिट्टाको संयुक्त टोलीले उनको साथबाट प्लास्टिकसहित ३ ग्राम ४४० मिलिग्राम तथा प्लास्टिकबाहेक २ ग्राम ८०० मिलिग्राम ब्राउन सुगर बरामद गरेको जनाएको छ।
उक्त कारबाहीका क्रममा बिर्तामोडका दुई युवासमेत पक्राउ परेका छन्। बिर्तामोड–१ का ३० वर्षीय मो। सद्धाम हुसेन र बिर्तामोड–५ का १९ वर्षीय मुबारक अलीको साथबाट ३ ग्राम २८० मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ।
तीनै जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखी लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।