Local Sandesh आइतबार, साउन १० २०८३
  • ट्रेण्डिङ :

अमर कल्याण मावि नयाँबजारमा बेममाया गुरुङ स्मृति छात्रवृत्ति वितरण

अमर कल्याण मावि नयाँबजारमा बेममाया गुरुङ स्मृति छात्रवृत्ति वितरण

  • सन्देश सम्वाददाता
  • बुधबार, असार ३१ २०८३


अमर कल्याण मावि नयाँबजारमा बेममाया गुरुङ स्मृति छात्रवृत्ति वितरण

नयाँबजार । इलामको माइजोगमाई गाउँपालिका–१, नयाँबजारस्थित श्री अमर कल्याण माध्यमिक विद्यालयमा स्थापना गरिएको स्वर्गीय बेममाया गुरुङ स्मृति अक्षय कोषको ब्याजबाट प्रदान गरिने ‘बेममाया स्मृति जेहेन्दार विद्यार्थी छात्रवृत्ति–२०८२’ दुई जना मेधावी विद्यार्थीलाई प्रदान गरिएको छ।

मंगलबार आयोजित एक समारोहबीच कक्षा–१० का साक्षर चापागाईं र कक्षा–८ की सृष्टि थामीलाई जनही ३ हजारका दरले नगद छात्रवृत्ति तथा प्रमाणपत्र प्रदान गरिएको हो। स्वर्गीय बेममाया गुरुङको स्मृतिमा रामबहादुर गुरुङ, रोशन गुरुङ, चेतबहादुर गुरुङ, नरेन्द्र गुरुङ लगायतका आफन्तजनद्वारा विद्यालयको नाममा स्थापना गरिएको अक्षय कोषको ब्याजबाट हरेक वर्ष विद्यालयका जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने व्यवस्था गरिएको छ।

विद्यालयको कार्यकक्षमा आयोजित छात्रवृत्ति तथा प्रमाणपत्र वितरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जितबहादुर निरौला र अक्षय कोषका दाता रामबहादुर गुरुङले संयुक्त रूपमा छात्रवृत्ति तथा प्रमाणपत्र प्रदान गरे । कार्यक्रममा प्रधानाध्यापक धनबहादुर भण्डारीले अक्षय कोष स्थापना गर्नुको उद्देश्य, यसको महत्व तथा छात्रवृत्ति कार्यक्रमबारे जानकारी गराउँदै यस्ता अभियानले विद्यार्थीलाई अध्ययनप्रति थप प्रेरित गर्ने विश्वास व्यक्त गरे ।

दाताहरूका तर्फबाट विद्यालयका निम्न माध्यमिक तहका शिक्षक तथा विद्यालय व्यवस्थापन समितिका शिक्षक प्रतिनिधि सन्तबहादुर गुरुङले अक्षय कोष स्थापना पछाडिको उद्देश्य र यसको दीर्घकालीन महत्वबारे प्रकाश पारे। सहायक प्रधानाध्यापक विष्णुप्रसाद आचार्यले सञ्चालन गर्नुभएको कार्यक्रममा विद्यालय परिवार, दातापरिवार, अभिभावक तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार