Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

विद्युत कटौतीले इलामको चिया र दुग्ध उद्योग संकटमा : उद्योगीहरूले प्रशासनदेखि विद्युत प्राधिकरणसम्म बुझाए ज्ञापनपत्र

विद्युत कटौतीले इलामको चिया र दुग्ध उद्योग संकटमा : उद्योगीहरूले प्रशासनदेखि विद्युत प्राधिकरणसम्म बुझाए ज्ञापनपत्र

  • सन्देश सम्वाददाता
  • बुधबार, असार ३१ २०८३


विद्युत कटौतीले इलामको चिया र दुग्ध उद्योग संकटमा : उद्योगीहरूले प्रशासनदेखि विद्युत प्राधिकरणसम्म बुझाए ज्ञापनपत्र

इलाम । इलाममा पटकपटक हुने विद्युत कटौती र कम भोल्टेजको समस्याका कारण चिया तथा दुग्ध उद्योग गम्भीर रूपमा प्रभावित भएको भन्दै उद्योगी, कृषक तथा व्यवसायीहरूले जिल्ला प्रशासन कार्यालय, नेपाल विद्युत प्राधिकरण इलाम वितरण केन्द्र र इलाम नगरपालिकामा ज्ञापनपत्र बुझाएका छन्।

उद्योगीहरूले प्रमुख जिल्ला अधिकारी, विद्युत प्राधिकरणका प्रमुख र नगर प्रमुखलाई बुझाएको ज्ञापनपत्रमा अनियमित र गुणस्तरहीन विद्युत आपूर्तिले जिल्लाको प्रमुख आर्थिक आधारका रूपमा रहेको चिया, दुग्ध तथा साना उद्योगहरू संकटमा परेको उल्लेख गरेका छन्। बारम्बार लाइन काटिने, कम भोल्टेज आउने र पटकपटक विद्युत अवरुद्ध हुने समस्याले उद्योग सञ्चालन, उत्पादन र किसानको आम्दानीमा प्रत्यक्ष असर परेको उनीहरूको भनाइ छ।

चिया उद्यमी जीवन नेउपानेले दिनमै पटकपटक विद्युत अवरुद्ध हुँदा उद्योग मात्र नभई किसानसमेत प्रत्यक्ष रूपमा प्रभावित भएको बताए। समयमै हरियो चियापत्ती प्रशोधन गर्न नसक्दा गुणस्तरमा असर पर्ने र उद्योगहरूले ठूलो आर्थिक क्षति बेहोर्नुपरेको उनको भनाइ छ।

उद्योगी गृष्मा सुब्बाले महँगो डिजेल खर्चेर जेनेरेटर सञ्चालन गरेर उद्योग चलाउनु आर्थिक रूपमा सम्भव नभएको बताइन्। इलामका अधिकांश नागरिकको जीविकोपार्जन चिया उद्योगसँग जोडिएको उल्लेख गर्दै उनले नियमित, भरपर्दो र गुणस्तरीय विद्युत आपूर्ति सुनिश्चित गर्न सरकारसँग माग गरे ।

ज्ञापनपत्रमा विद्युत समस्याका कारण चिया प्रशोधन उद्योगका महँगा मेसिनहरू पटकपटक ट्रिप हुने, प्रशोधन प्रक्रियामा रहेको चिया बिग्रिने, हरियो चियापत्ती नष्ट हुने तथा उद्योगीहरूले दैनिक लाखौं रुपैयाँ बराबरको क्षति व्यहोर्नुपरेको उल्लेख गरिएको छ। यस्तै, विद्युत अभावका कारण दूध चिस्यान केन्द्र (चिलिङ सेन्टर) सञ्चालनमा समस्या हुँदा किसानले उत्पादन गरेको दूध बिक्री गर्न नसकी फाल्नुपर्ने अवस्था आएको तथा पनिर, छुर्पी, चिजलगायत दुग्धजन्य वस्तु उत्पादन गर्ने उद्योगसमेत प्रभावित भएको जनाइएको छ।

उद्योगीहरूले फर्निचर, ग्रिल, कुखुरापालनलगायत अन्य साना तथा मझौला उद्योग, विद्यार्थीको पठनपाठन र सर्वसाधारणको दैनिक जीवनसमेत विद्युत समस्याले प्रभावित भएको उल्लेख गर्दै नेपाल विद्युत प्राधिकरणले तत्काल प्रभावकारी समाधान गर्नुपर्ने माग गरेका छन्। उनीहरूले २४सै घण्टा नियमित र गुणस्तरीय विद्युत आपूर्ति सुनिश्चित गर्न, पटकपटक हुने विद्युत अवरोध तथा कम भोल्टेजको समस्या तत्काल समाधान गर्न र सम्बन्धित निकायबीच प्रभावकारी समन्वय गरी दीर्घकालीन सुधार गर्न आग्रह गरेका छन्।

नेपाल विद्युत प्राधिकरण इलाम वितरण केन्द्रका प्रमुख रेवतप्रसाद चौधरीले प्रतिकूल मौसमका कारण विद्युत आपूर्तिमा समस्या आएको बताए। सेवा नियमित बनाउन प्राविधिक टोली निरन्तर खटिएको र समस्या समाधानका लागि आवश्यक पहल भइरहेको उनले जानकारी दिए।

प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले उद्योगीहरूले उठाएका मागप्रति प्रशासन गम्भीर रहेको बताउँदै सम्बन्धित निकायसँग आवश्यक समन्वय गरी समस्या समाधानका लागि पहल गरिने बताए। विद्युत आपूर्तिलाई थप व्यवस्थित र नियमित बनाउन सरोकारवाला निकायसँग छलफल गरी आवश्यक कदम चालिने उनको भनाइ छ।

इलाम नगरपालिकाका प्रमुख केदार थापाले उद्योगीहरूको ज्ञापनपत्र प्राप्त भएको जनाउँदै विद्युत कटौतीका कारण उद्योग, व्यवसाय तथा किसान प्रभावित भएकाले समस्या समाधानका लागि नगरपालिका आवश्यक समन्वय गर्न तयार रहेको बताए। सम्बन्धित निकायसँग सहकार्य गरी विद्युत आपूर्ति नियमित बनाउन पहल गरिने प्रतिबद्धता उनले व्यक्त गरे।

प्रतिक्रिया
सम्बन्धित समाचार