इलामको सन्दकपुर गाउँपालिका–३, सुलुबुङमा झन्डै ४८ वर्षदेखि रहेको सिँचाइ समस्या समाधानतर्फ महत्वपूर्ण उपलब्धि हासिल भएको छ। स्थानीय युवाको सक्रिय पहल, उपभोक्ताको जनश्रमदान तथा सरकारी लगानीको समन्वयमा दाहालखोला–गैरीगाउँ सिँचाइ कुलो निर्माण योजना सम्पन्न भएको हो ।
आर्थिक वर्ष २०८२/८३ मा जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय इलामबाट विनियोजित २० लाख रुपैयाँ तथा स्थानीयबासीको करिब १ लाख ४० हजार रुपैयाँ बराबरको जनश्रमदानबाट योजनाको भौतिक संरचना निर्माण सम्पन्न गरिएको हो ।
योजनाअन्तर्गत करिब ३०० मिटर पक्की कुलो निर्माण गरिएको छ। कुलोलाई दिगो र सुरक्षित बनाउन आवश्यक स्थानमा रिटेनिङ वाल निर्माण गरिएको छ भने पानीको बहाव व्यवस्थापन र स्थानीय आवतजावतलाई सहज बनाउन तीन वटा भीआरबी संरचना पनि निर्माण गरिएको दाहालखोला–गैरीगाउँ सिँचाइ जल उपभोक्ता संस्थाका अध्यक्ष पर्शुराम निरौलाले जानकारी दिए ।
अध्यक्ष निरौलाका अनुसार तीन किलोमिटर लामो कुलोको बाँकी निर्माण कार्य सम्पन्न गर्न संघीय सरकारसँग थप बजेटको माग गर्ने तयारीसमेत भइरहेको छ । कुलो व्यवस्थित बनेसँगै वर्षौँदेखि सिँचाइ अभाव झेल्दै आएका सुलुबुङका हुतुलुङ्ग र गैरीगाउँ क्षेत्रका कृषकमा नयाँ उत्साह छाएको छ। पानीको अभावका कारण बाँझिएका जमिन अब पुनः खेतीयोग्य बन्ने अपेक्षाले किसानहरू उत्साहित भएका छन ।
स्थानीय ८५ वर्षीय किसान खडानन्द निरौलाले विगत सम्झँदै भने “त्यसबेला कुटो–कोदालोको भरमा निकै दुःख गरेर कुलो खनेका थियौँ। ४८ वर्षपछि व्यवस्थित कुलो बनेको देख्न पाउँदा अत्यन्त खुसी लागेको छ। अब पानी नपाएर जमिन बाँझो राख्नुपर्ने अवस्था अन्त्य हुने विश्वास छ।”
उपभोक्ता समितिका सचिव युवराज सुवेदीले सीमित स्रोत–साधनका बीच पनि प्राविधिक मापदण्डअनुसार गुणस्तरीय निर्माण सम्पन्न गरिएको बताउनुभयो। उहाँले बाँकी काम पूरा गर्न थप बजेट आवश्यक रहेकाले सम्बन्धित निकायको सहयोग अपेक्षित रहेको उल्लेख गरे
विसं २०३६ सालमा सुरु गरिएको तीन किलोमिटर लामो यस कुलोमा लामो समयसम्म सरकारी लगानी हुन सकेको थिएन। पछिल्लो समय स्थानीय युवाहरूको अग्रसरतामा करिब २ करोड ६० लाख रुपैयाँ बराबरको विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० तयार भएपछि योजनाले मूर्त रूप लिन थालेको हो ।
जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय इलामका सिनियर डिभिजनल इन्जिनियर मेघराज ज्ञवालीले निर्माण कार्य प्राविधिक रूपमा गुणस्तरीय ढंगले सम्पन्न भएको बताउँदै स्थानीय आवश्यकता अनुसार आगामी दिनमा थप बजेट व्यवस्थापनका लागि आवश्यक पहल गरिने प्रतिबद्धता व्यक्त गरे
यस सिँचाइ आयोजना सम्पन्न भएसँगै सन्दकपुर गाउँपालिका–३ का हुतुलुङ्ग र गैरीगाउँका करिब २०० घरधुरी प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्। साथै करिब १,६०० रोपनी कृषि योग्य जमिनमा बाह्रै महिना सिँचाइ सुविधा पुग्ने भएकाले स्थानीय कृषि उत्पादन र किसानको आयआर्जनमा उल्लेखनीय टेवा पुग्ने अपेक्षा गरिएको । इलाम ग्रीनबाट