सन्दकपुर। इलामको सन्दकपुर गाउँपालिका–४ माबुमा जारी राँके स्मृति फुटबल प्रतियोगिता अन्तर्गत आज (शनिबार) तीन रोमाञ्चक खेल हुँदैछन्। बौद्धधाम टोल विकास संस्थाको आयोजनामा भइरहेको प्रतियोगितामा खुल्ला र भेट्रान्स दुवै विधामा प्रतिस्पर्धा भइरहेको छ।
आजको पहिलो खेलमा बौद्धमार्ग र गिताङ आमनेसामने हुँदैछन्। दोस्रो खेलमा टोड्के झर्ना र चालक परिवारबीच प्रतिस्पर्धा हुनेछ भने तेस्रो खेलमा थ्री लिप्स जमुनाले दि योङ ब्वाइजसँग खेल्नेछ। प्रतियोगिताको पहिलो दिन सम्पन्न खेलहरूमा प्रबोध माविले रोमाञ्चक टाइब्रेकरमा याक्पीलाई पराजित गर्दै अर्को चरणमा स्थान बनाएको थियो। निर्धारित समयमा दुवै टोलीले १–१ गोलको बराबरी खेलेपछि खेल टाइब्रेकरमा पुगेको थियो।
दोस्रो खेलमा टारी एफसीले फागो ब्रर्दर्सलाई ५–१ को फराकिलो अन्तरले पराजित गर्यो। त्यस्तै तेस्रो खेलमा सायाबुङ एफसीले नालिफुङवा एफसीमाथि ५–० को प्रभावशाली जित दर्ता गर्दै उत्कृष्ट प्रदर्शन गरेको थियो। प्रतियोगिताको खुल्लातर्फ २४ टोलीको सहभागिता रहेको छ भने भेट्रान्सतर्फ १० टोलीले प्रतिस्पर्धा गरिरहेका छन्।
आयोजकका अनुसार भोलिबाट भेट्रान्सतर्फका खेलहरू सुरु हुनेछन्। सेभेन–ए–साइड ढाँचामा सञ्चालन भइरहेको प्रतियोगिताको खुल्लातर्फ विजेताले ५१ हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले २५ हजार ५ सय नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।
यस्तै भेट्रान्सतर्फ विजेताले २० हजार र उपविजेताले १० हजार नगद पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ।