इलाम । नेपाली सांगीतिक क्षेत्रमा नयाँ ब्यान्ड ‘समकालीन’ ले आफ्नो पहिलो आधिकारिक गीत ‘लाहुर’ सार्वजनिक गरेको छ। डेब्यु सिंगलमार्फत ब्यान्डले नेपाली संगीत बजारमा आफ्नो औपचारिक यात्रा सुरु गरेको हो। ब्यान्डका अनुसार ‘लाहुर’ निराशा, संघर्ष र आशाको मिश्रित भावनालाई समेटेर तयार गरिएको मौलिक सिर्जना हो।
संगीतप्रतिको गहिरो लगावलाई अन्तिम पटक अभिव्यक्त गर्ने सोचका साथ तयार गरिएको यो गीत नै अन्ततः ब्यान्डको नयाँ सुरुवात र पहिचान बन्न पुगेको उनीहरूको भनाइ छ। ब्यान्डले पहिलो गीत सार्वजनिक भएसँगै आगामी दिनमा पनि मौलिक र गुणस्तरीय सिर्जना श्रोतामाझ ल्याउने तयारी गरिरहेको जनाएको छ।
ब्यान्डका सदस्यहरूले श्रोता, शुभेच्छुक तथा समर्थकबाट प्राप्त साथ र विश्वासप्रति आभार व्यक्त गर्दै यही साथले आगामी सांगीतिक यात्रालाई थप ऊर्जा दिने विश्वास व्यक्त गरेका छन्। ‘समकालीन’ ब्यान्डमा नवराज थापा क्षेत्री भोकलमा, सरिन के।सी। बेसमा, निकेश मान जोशी ड्रम्समा तथा क्षितिज शेरचन र प्रज्वल श्रेष्ठ गिटारमा आबद्ध छन्।
ब्यान्डले ‘लाहुर’ मार्फत नेपाली संगीत क्षेत्रमा आफ्नो छुट्टै पहिचान स्थापित गर्ने अपेक्षा राखेको जनाएको छ।