माई । माई नगरपालिकामा नगरभित्रका कृषकहरूका लागि सञ्चालन गरिएको दुई दिने व्यावसायिक सुपारी खेती सम्बन्धी तालिम सम्पन्न भएको छ। माई नगरपालिकाको कृषि विकास शाखाको आयोजनामा नगरपालिकाको सभाहलमा आयोजित तालिममा नगरका ९० जना कृषकहरूको सहभागिता रहेको थियो।
तालिममा सुपारी खेतीका विज्ञ डा. शरणकुमार रिजालले प्रशिक्षण दिएका थिए। तालिमको उद्घाटन तथा समापन कार्यक्रममा बोल्दै माई नगरपालिकाका नगर प्रमुख खम्बासिं लिम्बुले माई नगरपालिकामा सुपारी खेतीको उच्च सम्भावना रहेको बताए।
‘यस सम्भावनालाई अवसरमा रूपान्तरण गर्न आधुनिक खेती प्रविधि, बगैँचा व्यवस्थापन, रोग तथा कीरा नियन्त्रण सम्बन्धी ज्ञान आवश्यक पर्छ । यही उद्देश्यका साथ यो दुई दिने तालिम आयोजना गरिएको हो,’ उनले भने। उनले तालिमबाट सहभागी कृषकहरूले सुपारी खेतीलाई थप व्यावसायिक, उत्पादनशील तथा आयआर्जनमुखी बनाउन आवश्यक ज्ञान र सीप प्राप्त गर्ने विश्वास व्यक्त गर्दै सिकेका कुरालाई व्यवहारमा लागू गर्न तथा आफ्ना बगैँचामा प्रयोग गरी उत्पादन वृद्धि गर्न आग्रह गरे।
कार्यक्रममा नगर उपप्रमुख हिमा भण्डारीले सुपारी यस क्षेत्रको एक महत्वपूर्ण नगदे बाली भएको बताइन्। उचित व्यवस्थापन र आधुनिक प्रविधिको प्रयोग गर्न सके सुपारीको उत्पादन र आम्दानी दुवै बढाउन सकिने उनको भनाइ थियो। ‘यसले कृषकहरूको आर्थिक अवस्था सुधार गर्नका साथै स्थानीय स्तरमा रोजगारी सिर्जना गर्न समेत महत्वपूर्ण योगदान पुर्याउँछ,’ उनले भनिन्।
कृषि विकास शाखा प्रमुख रुजन खड्काका अनुसार दुई दिनसम्म चलेको तालिममा विज्ञ प्रशिक्षक डा। शरणकुमार रिजालले कृषकहरूलाई सुपारीको आधुनिक उत्पादन प्रविधि, नर्सरी व्यवस्थापन, काँटछाँट, गोडमेल, रोग तथा कीरा नियन्त्रण तथा बजारीकरणका प्राविधिक पक्षबारे प्रशिक्षण दिएका थिए।
तालिम समापनसँगै सहभागी कृषकहरूले सिकेको सीपलाई व्यावसायिक रूपमा प्रयोग गरी उत्पादन वृद्धि गर्ने प्रतिबद्धता जनाएका छन्।