इलाम । फाकफोकथुम गाउँपालिकामा न्यायिक समिति, मेलमिलापकर्ता तथा जनप्रतिनिधिहरूका लागि न्यायिक निरूपण तथा मेलमिलापसम्बन्धी तीनदिने पुनर्ताजगी तालिम सुरु भएको छ।
गाउँपालिकाको सभाहलमा सुरु भएको तालिमको उद्घाटन फाकफोकथुम गाउँपालिकाकी उपाध्यक्ष तथा न्यायिक समिति संयोजक कल्पना राईले गरिन् । न्यायिक समितिकी संयोजक राईको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष दीपेन्द्र खनालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा न्यायिक समिति सदस्य तथा वडा नं १ का वडाध्यक्ष कर्णबहादुर लिम्बुले स्वागत मन्तव्य राखेका थिए । प्रमुख अतिथि अध्यक्ष खनालले शुभकामना मन्तव्य व्यक्त गर्दै स्थानीय तहमा देखिने विवाद व्यवस्थापन, मेलमिलाप तथा विवाद समाधानका विषयमा सहभागीहरूलाई जानकारी गराए ।
तालिममा इलाम मानव अधिकार मञ्चका मनकुमार बराइली प्रमुख प्रशिक्षक रहेका छन् । उनले गाउँपालिकाका जनप्रतिनिधि तथा सातवटै वडाका मेलमिलापकर्तासहित ३७ जना सहभागीलाई न्यायिक निरूपण, मेलमिलाप प्रक्रिया तथा विवाद समाधानका विषयमा प्रशिक्षण प्रदान गरिरहेका छन् ।
न्यायिक निरूपण तथा मेलमिलापसम्बन्धी पुनर्ताजगी तालिम असार ४ गतेसम्म सञ्चालन हुने न्यायिक समिति सचिवालयका संयोजक विमल घिमिरेले जानकारी दिए। तालिमले स्थानीय स्तरमा विवाद समाधानलाई प्रभावकारी, सहज र न्यायोचित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।