इलाम : माइजोगमाई गाउँपालिका कृषि तथा पशु सेवा शाखाले आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत सञ्चालन गरिरहेको माटो परीक्षण, बाली उपचार तथा पशु स्वास्थ्य शिविर निरन्तर सञ्चालन भइरहेको छ।
आर्थिक विकास समितिको निर्णयअनुसार प्रत्येक वडामा निश्चित केन्द्र तोकी सञ्चालन गरिएको शिविरअन्तर्गत आइतबार वडा नं। १ स्थित शारदा आधारभूत विद्यालयमा शिविर सम्पन्न भएको हो। शिविरमा स्थानीय किसानहरूको उल्लेख्य सहभागिता रहेको कृषि तथा पशु सेवा शाखाले जनाएको छ।

कृषि तथा पशु सेवा शाखाले सीमित स्रोत–साधनका बाबजुद किसानको टोलसम्म पुगेर माटो परीक्षण, बाली तथा पशु स्वास्थ्य सम्बन्धी परामर्श सेवा उपलब्ध गराउने प्रयासलाई निरन्तरता दिने जनाएको छ।

शाखाका अनुसार भोलि आइतबार शिविर माइजोगमाई गाउँपालिका–६ स्थित प्याङ जनता आधारभूत विद्यालयमा सञ्चालन हुनेछ। किसानहरूलाई आवश्यक नमुना र जानकारीसहित उपस्थित भई सेवा लिन आग्रह गरिएको छ।