Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

चिया र टाकुरा पर्यटन प्रवर्द्धन योजना सम्बन्धी प्रारम्भिक छलफल इलाममा सम्पन्न

चिया र टाकुरा पर्यटन प्रवर्द्धन योजना सम्बन्धी प्रारम्भिक छलफल इलाममा सम्पन्न

  • सन्देश सम्वाददाता
  • शुक्रबार, जेष्ठ २९ २०८३


चिया र टाकुरा पर्यटन प्रवर्द्धन योजना सम्बन्धी प्रारम्भिक छलफल इलाममा सम्पन्न

इलाम । इलामको पर्यटन क्षेत्रलाई थप व्यवस्थित, आकर्षक र दिगो बनाउने उद्देश्यले चिया र टाकुरा पर्यटन प्रवर्द्धन योजना तर्जुमासम्बन्धी प्रारम्भिक छलफल कार्यक्रम इलाममा सम्पन्न भएको छ।

इलाम नगरपालिकाको आयोजना तथा नेपाल पर्यटन बोर्ड को सहयोगमा आयोजित कार्यक्रममा इलामको पर्यटन विकास र प्रवर्द्धनका लागि आवश्यक रणनीति, योजना तथा सम्भावनाका विषयमा विस्तृत छलफल गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै केदार थापा ले आगामी एक वर्षभित्र इलाममा पाँच लाख पर्यटक भित्र्याउने र पर्यटकको औसत दैनिक खर्च ५० अमेरिकी डलर पुर्‍याउने लक्ष्यसहित पर्यटनमैत्री नीति तथा कार्यक्रम निर्माण गरिने बताए।

उनले इलामको प्राकृतिक सौन्दर्य, चिया बगान, धार्मिक तथा सांस्कृतिक सम्पदालाई पर्यटनसँग जोडेर आर्थिक समृद्धि हासिल गर्न सकिने धारणा व्यक्त गरे। कार्यक्रममा पर्यटन विकासका विभिन्न आयामबारे विषयगत प्रस्तुतीकरण गरिएको थियो।

चिया पर्यटन, होमस्टे प्रवर्द्धन, खेल पर्यटन, कृषि तथा इको–टुरिजम, सांस्कृतिक उत्सव, मानव स्रोत विकास तथा भारतीय पर्यटकलाई केन्द्रमा राखेर पर्यटन विस्तार गर्ने रणनीतिका विषयमा विज्ञ तथा सरोकारवालाले आ–आफ्ना सुझाव प्रस्तुत गरेका थिए।

छलफलका क्रममा सहभागीहरूले इलामलाई पूर्वी नेपालको प्रमुख पर्यटन गन्तव्यका रूपमा विकास गर्न पूर्वाधार निर्माण, सेवा गुणस्तर अभिवृद्धि, स्थानीय उत्पादनको प्रवर्द्धन तथा निजी क्षेत्रसँगको सहकार्यलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए।
कार्यक्रममा उठेका विषयवस्तुमाथि कोशी प्रदेशका मुख्यमन्त्रीका आर्थिक सल्लाहकार डा। मोहन सुबेदी ले सुझाव प्रस्तुत गरेका थिए।

त्यस्तै, कार्यक्रमको निष्कर्ष तथा आगामी कार्यदिशाबारे डा। चन्द्र उपाध्याय ले जानकारी गराएका थिए। छलफलबाट प्राप्त सुझावका आधारमा इलामको चिया र टाकुरा पर्यटनलाई केन्द्रमा राखी दीर्घकालीन पर्यटन प्रवर्द्धन योजना तयार गरिने आयोजकले जनाएको छ।

पर्यटन क्षेत्रका सरोकारवाला, विज्ञ, जनप्रतिनिधि तथा निजी क्षेत्रका प्रतिनिधिको सहभागिता रहेको उक्त कार्यक्रमले इलामको पर्यटन विकासका लागि महत्वपूर्ण आधार तयार गरेको विश्वास गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार