चुलाचुली : जागृती अपाङ्ग संघ चुलाचुलीको २१ औँ साधारण सभा तथा ८ औँ अधिवेशनबाट मन्जु खनाल अध्यक्ष पदमा निर्वाचित भएकी छन् । जेष्ठ २२ गते चुलाचुली गाउँपालिकाको प्रशासनिक भवन परिसरमा सम्पन्न अधिवेशनले नयाँ ११ सदस्यीय कार्यसमिति सर्वसम्मत तथा निर्वाचन प्रक्रियामार्फत चयन गरेको हो।
बन्द सत्रअन्तर्गत सम्पन्न ८ औँ अधिवेशनमा पूर्व अध्यक्ष बिद्यानाथ पोख्रेलको संयोजकत्वमा गठित निर्वाचन मण्डल सदस्यहरू देवेन्द्र पौडेल र केन्द्रकुमारी दहालले नयाँ कार्यसमिति चयन गरेको हो। अध्यक्ष पदका लागि भएको निर्वाचनमा मन्जु खनालले ३४ मत प्राप्त गर्दै विजयी भएकी हुन्। लक्ष्मी थापा गुरागाईंले २९ मत र अर्पण राईले ८ मत प्राप्त गरेका छन् ।
नवगठित ११ सदस्यीय कार्यसमितिमा उपाध्यक्षमा संगीता गिरी (न्यून दृष्टि अपाङ्गता), सचिवमा लक्ष्मी थापा गुरागाईं (शारीरिक अपाङ्गता), सहसचिवमा विष्णु कुमाल (शारीरिक अपाङ्गता), कोषाध्यक्षमा दिलकुमारी राई (शारीरिक अपाङ्गता) चयन भएकी छन् ।
त्यसैगरी सदस्यहरूमा उद्धव गौतम, अशोक खपाङ्गी, जानुका भट्टराई (श्रवण अपाङ्गता), पुष्पमाया चापागाईं (स्वर–बोलाइ अपाङ्गता), अमर चेम्जोङ र बुद्धिनाथ अधिकारी (बौद्धिक अपाङ्गता अभिभावक) चयन भएका छन् ।
संघका निवर्तमान अध्यक्ष चन्द्र दंगालको अध्यक्षता तथा चुलाचुली गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा गाउँपालिका उपाध्यक्ष दिलकुमारी लावती विशिष्ट अतिथि रहेकी थिइन् । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्य, महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख रिता पोख्रेल, स्वास्थ्य शाखा प्रमुख दुश्यान्त दहाल लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमको खुला सत्रमा शुभकामना मन्तव्य दिँदै गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले आफ्नो कार्यकालमा अपाङ्गता भएका व्यक्तिहरूको अवस्थामा केही सुधार भएको दाबी गर्दै नीति र विधिगत सीमाका कारण केही आवश्यक कामहरू ढिलाइ भइरहेको उल्लेख गरे। उनले आवश्यक योजनाहरूलाई समयानुकूल सम्बोधन गरिने प्रतिबद्धता व्यक्त गरे ।
प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्यले अपाङ्गता भएका व्यक्तिहरूका लागि राज्यले विभिन्न शीर्षकमा लगानी गरिरहेको उल्लेख गर्दै ती कार्यक्रमहरूको प्रभावकारिता र लक्षित वर्गमा परेको प्रभावबारे समीक्षा आवश्यक रहेको बताए । महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख रिता पोख्रेलले अपाङ्गता भएका व्यक्तिहरूले साहस र आत्मविश्वासका साथ अघि बढेमा अन्य सरह सफल हुन सक्ने बताइन् ।
सचिव लक्ष्मीमाया थापा गुरागाईंले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८२र८३ को प्रगति प्रतिवेदन, भावी योजना तथा आर्थिक प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरिएको छ। नेपाल सरकारले अपाङ्गता भएका व्यक्तिहरूलाई १० समूहमा वर्गीकरण गरे पनि चुलाचुली गाउँपालिकामा ८ प्रकारका अपाङ्गता रहेको तथ्य प्रस्तुत गरिएको छ।
अपाङ्गता अधिकार सम्बन्धी ऐन २०७४ कार्यान्वयनमा रहे पनि व्यवहारिक अभ्यास कमजोर रहेको सरोकारवालाहरूले बताएका छन्। नीति निर्माणदेखि विकास योजनासम्म अपाङ्गता भएका व्यक्तिहरूको सहभागिता न्यून रहेको गुनासो समेत उठेको छ।
स्थानीय अपाङ्गता भएका व्यक्तिहरूले स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीसँग सहज पहुँच अझै सुनिश्चित नभएको बताएका छन्। साथै नयाँ निर्माण भइरहेका सार्वजनिक संरचना, विशेषगरी विद्यालयहरू अपाङ्गमैत्री नभएको उनीहरूको गुनासो छ।
कार्यक्रमले अपाङ्गता अधिकार कार्यान्वयनलाई प्रभावकारी बनाउन स्थानीय सरकारको विशेष भूमिका आवश्यक रहेको निष्कर्षसहित सम्पन्न भएको छ।