Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

सम्झनामा इलामकी सरस्वती राई : पूर्वी नेपालमा महिला शिक्षाको जग बसाल्ने प्रेरक व्यक्तित्व

सम्झनामा इलामकी सरस्वती राई : पूर्वी नेपालमा महिला शिक्षाको जग बसाल्ने प्रेरक व्यक्तित्व

  • सन्देश सम्वाददाता
  • बिहिबार, जेष्ठ २१ २०८३


सम्झनामा इलामकी सरस्वती राई : पूर्वी नेपालमा महिला शिक्षाको जग बसाल्ने प्रेरक व्यक्तित्व

इलाम। नेपालको महिला शिक्षा, सामाजिक जागरण र महिला अधिकार आन्दोलनको इतिहासमा सरस्वती राईको नाम अत्यन्त सम्मानका साथ स्मरण गरिन्छ। पूर्वी नेपालमा महिला शिक्षाको आधारशिला निर्माण गर्ने अग्रणी व्यक्तित्वका रूपमा चिनिने उनी केवल एक शिक्षिका मात्र नभई सामाजिक परिवर्तनकी सशक्त अभियन्ता पनि थिइन्।

विसं १९८४ असार ४ गते आसामको लोकरामा जन्मिएकी सरस्वती राई पिता जयराज र माता रत्नकुमारी कुलुङकी सुपुत्री हुन्। उनका बुबा ब्रिटिस भारतीय सेनामा कार्यरत थिए। पछि भारतीय सेनामै कार्यरत भोजपुरका नरबहादुर थुलुङ राईसँग विवाह भएपछि उनी ‘मेजर्नी गुरुआमा’ नामले समेत परिचित भइन्।

आसामको कोइमाबाट कक्षा ६ सम्म अध्ययन गरेकी उनले शिक्षाप्रतिको आफ्नो लगावलाई जीवनभर निरन्तरता दिइन्। नेपाल फर्किएपछि इलाममा शिक्षण कार्य गर्दै आफ्नै विद्यार्थीहरूसँगै परीक्षा दिएर विसं २०१२ सालमा एसएलसी उत्तीर्ण गर्नु उनको दृढ संकल्प र शिक्षाप्रतिको समर्पणको उदाहरण हो।

विसं २००७ सालमा नेपाल फर्किएपछि सरस्वती राईले इलाम बजारका घर–घर पुगेर बालिकाहरूलाई विद्यालय पठाउन अभिभावकलाई प्रेरित गर्न थालिन्। त्यस समय छोरीहरूलाई विद्यालय पठाउने चलन अत्यन्त न्यून थियो। सामाजिक संकोच, परम्परागत सोच र अवसरको अभावका बीच उनले बालिका शिक्षाको अभियान सुरु गरिन्।

उनको अथक प्रयास र स्थानीय समुदायको सहयोगमा वि।सं। २००८ सालमा सरस्वती कन्या पाठशाला स्थापना भयो। यस विद्यालयले पूर्वी नेपालमा महिला शिक्षाको नयाँ युग प्रारम्भ गर्‍यो। यही कारण उनलाई पूर्वी नेपालमा महिला शिक्षाको जग बसाल्ने अग्रणी व्यक्तित्वका रूपमा सम्मान गरिन्छ।

सरस्वती राई शिक्षाको क्षेत्रमा मात्र सीमित रहिनन्। महिला सशक्तीकरण र साक्षरताको अभियानलाई देशव्यापी बनाउने कार्यमा पनि उनले महत्वपूर्ण योगदान पुर्‍याइन्। महिला सङ्घमा सक्रिय रहँदा उनले नेपालका विभिन्न स्थानमा साक्षरता अभियान सञ्चालन गर्दै हजारौँ महिलालाई शिक्षाको पहुँचमा ल्याउने प्रयास गरिन्।

विसं २०१८ सालमा इलाम जिल्ला महिला सङ्गठनको जिल्ला सभापतिमा निर्वाचित भएपछि उनको नेतृत्व क्षमता अझ स्पष्ट रूपमा स्थापित भयो। उनी नेपालको इतिहासमा राजसभाको सदस्य बन्ने पहिलो महिला मानिन्छिन्। साथै सल्लाहकार सभा सदस्य, राष्ट्रिय पञ्चायत सदस्य तथा सहायकमन्त्रीजस्ता महत्वपूर्ण जिम्मेवारी पनि उनले सम्हालिन्।

विसं २०३४ सालमा गठित सामाजिक सेवा राष्ट्रिय समन्वय परिषद्अन्तर्गत नारी सेवा समितिको सभापतिका रूपमा उनले देशका दुर्गम पहाडी तथा हिमाली जिल्लाहरूको भ्रमण गरिन्। ती क्षेत्रमा पुगेर महिलाहरूलाई साक्षरता, आत्मनिर्भरता र सामाजिक चेतनासम्बन्धी कार्यक्रममार्फत जागृत बनाउने कार्यमा उनले उल्लेखनीय भूमिका निर्वाह गरिन्।

उनको अभियानले शिक्षा, समानता र आत्मविश्वासको सन्देश गाउँ–गाउँसम्म पुर्‍यायो। यही योगदानका कारण उनी ‘मेजर्नी गुरुआमा’, ‘मेचीकी दिदी’ तथा ‘इलाममा महिला जागरणकी अग्रज’ जस्ता सम्मानित उपनामले परिचित भइन्। विसं  २०७५ साल जेठ २१ गते उनको निधन भए पनि उनले रोपेको महिला शिक्षा र सामाजिक जागरणको बीउ आज विशाल वृक्षका रूपमा फैलिएको छ।

इलामबाट सुरु भएको उनको अभियानले हजारौँ महिलाको जीवन परिवर्तन गरेको छ भने नेपाली समाजलाई समानता र शिक्षाको मार्गमा अघि बढ्न प्रेरणा दिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार